काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाइ बढाउन, जनशक्तिको पूर्ण सदुपयोग गर्न र राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन सल्लाह दिएका छन् ।
मङ्गलबार निगमका उच्चपदाधिकारीहरुसँग भएको छलफल कार्यक्रममा उनले भने, ‘विमान सञ्चालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक हो । तर विमान खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाई बाहिर कुरा काट्ने स्थिति नआउने वातावरण बनाउनुपर्दछ ।’
विगतमा दुर्गम क्षेत्रमा गरेको सेवा उल्लेखनीय रहेको र आगामी दिनमा पनि समयसापेक्ष स्तरीय सेवा प्रदान गर्न सक्रिय रहनुपर्ने मन्त्री भट्टराईकाे भनाइ छ । निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्यलाई उचित काम सुम्पेर प्रतिफल लिन पनि उनको सुझाव छ ।
उनले विमानस्थलहरुको सङ्ख्या थपिँदै गएको सन्दर्भमा सबैतिर सेवा पुर्याउन सल्लाह दिए । मङ्सिरमा निजगढ विमानस्थलको शिलान्यास गरिने उनले जानकारीसमेत दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पुँजीमा सन्तुलन आवश्यक रहेको र त्यसमा सरकारको सकारात्मक सहयोग रहने बताए । त्यसका लागि स्पष्ट व्यावसायिक योजना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले गरेका उपलब्धिबारे प्रकाश पार्दै अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तर्राष्ट्रिय उडानमा सबभन्दा बढी यात्रु बोक्न सफलता पाएको र ८६ प्रतिशत सिट क्षमतामा उडान गरिएको बताए ।
निगमले सेवाको स्तरवृद्धिका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखी अगाडि बढेको र पुँजी एवम् ऋणबीच सन्तुलन हुनुपर्छ भन्ने अवधारणाले सरकारबाट २० अर्वको लगानी खोजेको उनको भनाइ छ । ‘उड्डयन जस्तो संवेदनशील र तरल विषयमा आरोहअवरोह आउनु स्वाभाविक हो,’ उनले भने, ‘राम्रो काम गरी अघि बढे निगमको भविष्य उज्ज्वल छ ।’
आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले बढ्दो उड्डयन क्षेत्रलाई ध्यानमा राखी निगमका लागि एकमुष्ठ १५ वटा विमान किन्नुपर्ने बताए । संस्थालाई क्षमतावान् बनाउन सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ ।