काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकहरुले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराईभल भिसा पाउने भएका छन् । नेपाल आएर कोभिड परीक्षण गर्दा नेगेटिभ देखिएमा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेश गरेको पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७ लाई चैत ५ गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेसँगै पर्यटक आगमनलाई सहज भएको हो ।
हवाई मार्गबाट नेपाल आउने पर्यटकले सम्बन्धित मुलुकमा नेपालको भिसा उपलब्ध नहुने वा कठिन भएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विन्दुमा अनअराईभल भिसा प्राप्त गर्न सक्नेछन । तर,सडक मार्गबाट आएका पर्यटकले भने विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र प्रवेश गर्नसक्ने छन् ।
यो पनि हेर्नुहोस
पर्यटकका लागि क्वारेन्टाइनको व्यवस्था हट्यो, अनअराइभल भिसा विमानस्थलबाटै, कोरोना बिमा नचाहिने
यस्तै विमानभित्र प्रवेश हुुनु भन्दा ७२ घण्टा अघि दिएको स्वाबको कोरोना पीसीआर परीक्षण गर्दा नेगेटिभ भएको कागजात वा कोभिड विरुद्धको खोपको मात्र पूरा गरेको कागजात लिएर आएपछि नेपालमा पुनः कोभिड टेष्ट गर्नुपर्छ ।
यदी सो टेष्टमा पनि नेगेटिभ आएमा भने क्वारेन्टाइनमा बस्नु पर्नेछैन । तर, टेष्ट अवधिमा भने आफ्नै खर्चमा होटलमा क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
पदयात्रा वा पर्वतारोहणका लागि सम्बन्धित संस्था वा एजेन्सीले पर्यटकका साथमा जाने नेपाली सहयोगी वा नेपाली सदस्यहरुको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने भएको छ ।