पोखरा । पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि पोखरा पर्यटन परिषदले संंस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई दुई दिने डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया तालिम प्रदान गरेको छ ।
नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा बोर्डका प्रमुख काशिराज भण्डारीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने बताए । पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिनुपर्नेमा जोड दिए ।
प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने जनाउँदै भण्डारीले प्रविधि मैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिन व्यवसायीलाई आग्रह गरे । प्रविधिले आमन सामने भएर गरिने कति कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पुर्याउने उनको विश्वास थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले व्यवसायीको उल्लेख्य सहभागिताले व्यवसाय प्रति व्यवसायी चिन्तित देखिएको बताए । उनले पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो समेत औल्याए ।
परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताए । उनले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताए ।
तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताए । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उनको भनाइ थियो । सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उनको भनाइ थियो ।
। देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए ।
संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।