काठमाडौं । अर्थ मन्त्रालयले नेपाल वायुसेवा निगमको ६ वटा चिनियाँ जहाज बेच्न सहमत जनाएको छ । लामो समयदेखि अन्यौलमा रहेको चिनियाँ जहाज व्यवस्थापनका लागि अर्थले सहमति दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
निगमले जहाज व्यवस्थापनको चार विकल्प प्रस्ताव गरेको थियो । तीमध्ये जहाज भाडामा दिने वा बेच्ने विषयमा अर्थले पर्यटनलाई सहमति दिएको बताइएको छ । योसँगै निगमलाई जहाज बेच्न वा भाडामा दिन बाटो खुलेको छ ।
निगम सञ्चालक समितिले साउन १५ गतेबाट ५ वटा जहाज गाउण्डेड गरेको थियो । जहाज सञ्चालन नगर्दाभन्दा सञ्चालनमा ल्याउदा धेरै घाटा भएको भन्दै निगमले जहाज सञ्चालन नगर्ने निर्णय गरेको थियो ।
निगम सञ्चालक समितिले आफूसँग रहेको ५ वटा चिनियाँ जहाज सञ्चालन गर्दा वार्षिक सञ्चालन घाटा ५० करोड रुपैयाँ हुने कारण देखाउँदै गत साउन १५ गतेदेखि ग्राउन्डेडको निर्णय गरेको थियो ।
चीनबाट ५ अर्ब २० करोड रुपैयाँ बराबरको जीटूजी सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा ६ वटा चिनियाँ जहाज २०७१ वैशाखपछि विभिन्न समयमा नेपाल ल्याइका थिए ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले चीनको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदानमा निगमका लागि किनिदिएको थियो ।
तीमध्ये एउटा वाई १२ ई चैतमा नेपालगन्जमा दुर्घटनामा परेर उडान अयोग्य भइसकेको छ । हाल तीनवटा वाई १२ ई र दुईवटा एमए ६० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ ।
निगमले वाई १२ एक र एमए ६० एक जहाज अनुदानमा पाएको हो भने बाँकी चारवटा जहाज खरिद गरेको थियो ।निगमले चिनियाँ सहुलियत ऋणमा ल्याएका जहाजको किस्ता तिर्न ७ वर्षसम्म छुट अवधि पाएको छ । त्यसपछि २० वर्षसम्म किस्ता तिर्ने शर्त उल्लेख छ ।
निगमले तीन वाई १२ र एक एम ६० जहाज सहुलियत ब्याजदरमा खरिद गरेको थियो भने एक एमए ६० र एक वाई १२ अनुदानमा पाएको हो ।
यी जहाजको कात्तिक २०७७ देखि किस्ता तिर्न सुरु गर्नुपर्ने शर्त छ । तर, चिनियाँ जहाज उडान सुरु गरेको ७ वर्षसम्म पनि निगमले यी जहाजबाट निरन्तर घाटा खाँदै आएको छ ।
यी जहाजको आगामी २०७७ कात्तिक मसान्तमा पहिलो अर्धवार्षिक किस्ता ८४ लाख १५ हजार २२५ आरएमबी बुझाउनुपर्छ । यस्तो किस्ता २०९० वैशाखसम्म बुझाउने शर्त सम्झौतामा उल्लेख छ । निगमले सन २०१४ मा एक एमए ६० र तीन वाई १२ का जहाज २१ करोड ८७ लाख ९५ हजार ८५० आरएमबीमा खरिद गरेको हो ।