काठमाडौं । सिराहामा ३५ वर्षअघि जन्मिएका सन्तोष शाह यतिबेला चर्चामा छन् । बीबीसी मास्टर सेफ प्रोफेसनल्स युके–२०२० का उपविजेता बनेपछि उनको चर्चा चुलिएको हो । गरिबीको कारण अभावमा हुर्किएका शाहले धेरै पढ्न भने पाएनन् ।
गाउँकै बजारमा प्लास्टिक र पाउरोटी बेच्दै हिँडेका उनी पैसा कमाउनकै लागि भारत गए । भारतको होटलमा काम गर्दै अघि बढेका सन्तोषले नेपाली खानालाई नयाँ स्वाद दिएर लण्डनमा नेपालको झण्डासमेत फरफराएका थिए ।
उनै शाहलाई बिहीबार नबिल बैंकले ‘नबिल हिरोज अफ नेपाल’ ले सम्मान गरेको हो । नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले सन्तोषलाई नबिल हिरो घोषणा गरेका हुन् । यसअघि नबिलले हिमआरोही निर्मल पुर्जालाई नबिल हिरोको रुपमा सम्मान दिएको थियो ।
वार्षिक रुपमा घोषणा गर्ने कार्यक्रम रहे पनि कोभिडका कारण गत वर्ष रोकिएको थियो । सेफ सन्तोषको सम्मान कार्यक्रममा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठको पनि उपस्थिति थियो । श्रेष्ठले भक्तपुरमा गुदपाक उत्पादन गर्र्दै विदेशमा निर्यात गरिरहेकी छिन् । उनले नेपाली परिकारहरु विस्तारै लोप हुँदै गएको अनुभव गरेकी छन् ।
सीमित परिकारमा मात्रै रमाएका नेपालीलाई नयाँ तरिकाबाट पनि खानेकुरा बनाउन सकिन्छ भन्ने सन्देश दिएका सन्तोषलाई भेट्दा आफू धेरै खुसी रहेको अनुष्काले बताइन् ।
‘नेपालमा स–साना सटर र कोठामा सीमित होटल देखेको मान्छे भारतमा ठूलाठूला भवनमा ड्रेस लगाएर सञ्चालन भएका होटल देख्दा छक्क परेँ ।’ सन्तोषले आफ्नो विगत सम्झिदै भने ‘भारतको होटलमा काम गरेर पहिलो तलब स्वरुप ९ सय भारु अर्थात् १ हजार ६ सय नेपाली रुपैयाँ पाउँदा ५० पटक गनेँ होला ।’
शाहका अनुसार नेपालमा पाउरोटी र प्लास्टिक बेचेर ५०/६० रुपैयाँ पैसा कमाएका उनलाई सुरुको तलब त्यति धेरै देख्दा विश्वास गर्न गाह्रो पनि पर्यो ।
उनले बुझ्दै जाँदा अरुले त्योभन्दा बढी पैसा कमाउने थाहा पाए । तर, त्यसका लागि पढ्नु पथ्र्यो । सन्तोषले एसएलसी पास गर्न सकेका थिएनन् र भर्खरै भारत गएका शाहासँग पुनः स्कुल गएर पढ्न पैसा र समय दुवै थिएन । यद्यपि उनको पैसा कमाउने रहर भने बढ्दै गयो ।
अन्ततः पढाइका लागि विद्यालय नै किन जानुपर्यो ? भन्ने सोचले किताब किनेर घरमै पढ्दै, ध्यान दिएर काम गरेपश्चात् अरुको जति पैसा कमाउने सपना पूरा भएको शाह बताउँछन् । त्यसबीचमा उनले पैसा मात्रै कमाएनन् २ वर्ष खानाको बारे अध्ययनसमेत गरे ।
समयअनुसार आफ्नो प्रेरणाको स्रोत र आदर्श व्यक्ति फरक रहेको बताउने सन्तोष भाग्यमा विश्वास होइन कर्म गर्नुपर्छ सफलता प्राप्त गर्न सकिन्छ भन्छन् । नबिल हिरो बनेका शाहले अनुष्काको खानाको बिजनेस देखेर खुसी लागेको बताए ।
उनी भन्छन्, ‘राजा वीरेन्द्रको पालामा राम्रो खाद्यान्न उत्पादन गर्नेलाई सम्मान गरिन्थ्यो तर अहिले पर्यटनतिर सबैको ध्यान गएकाले खानाको महत्व घटेको छ ।’
सन्तोषलाई जति पछ्याउँछु, उति गर्व गर्छुः अनिल शाह
सन्तोषलाई जति पछ्याउँछु, उतिनै गर्व लाग्छ, बैंकका सीईओ शाहले भने । आफ्नो सपनालाई साकार बनाउन वर्षौंदेखिको अथक मेहनत र परिश्रमपछि पाएको सफलता देखेर मलाई निकै गर्व लागेको छ ।
सन्तोषले लामो समय नेपालमा युवाहरुसँगै बिताइरहेको भन्दै शाहले उनलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । सन्तोषले सधैं ‘म जहाँबाट आएँ उहाँ निर्धक्क भन्नुहुन्छ, म यो ठाउँबाट आएँ, यो गाउँबाट आएँ भनेर संसारलाई चिनाउने’ गरेकोमा शाहले खुसी प्रकट गरे ।