गाजीपुर, एएफपी । बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको यसै साता ५० वर्ष पुगेको छ । गरिबीको चेपुवामा परेको बङ्गलादेशले पछिल्ला वर्षमा आर्थिक समृद्धिका दिशामा व्यापक प्रगति गरे पनि अधिकार कटौतीले चिन्तित बनाएको छ ।
पछिल्ला वर्षहरुमा एक दलीय झैं देखिएको बङ्गलादेशको राजनीतिमा सरकारको विरोधमा कार्टून बनाए वा फेसबुकमा केही लेखे जेलमा परिने वा त्योभन्दा कडा सजाय भोग्नु पर्ने हुन सक्छ ।
ए.बी.एम शमशुद्दीन बङ्गलादेशको आर्थिक प्रगतिबाट राम्रै लाभ प्राप्त गर्न सफल भएका छन । उहाँले सन् १९९८ मा ११० वटा मेसिन र २५० जना कामदार राखेर एउटा स्वीटर बनाउने कारखाना खोलेका थिए ।
अहिले शमशुद्दीनको हन्नान समूहका पाँच वटा कारखानाले दुई दर्जन युरोपेली ब्रान्डका लागि तयारी पोशाक आपूर्ति गर्दछ र यहाँ १० हजारभन्दा बढीले काम पाएका छन् ।
“मेरो वार्षिक कारोबार अहिले झण्डै १० करोड डलर छ,” ६६ वर्षीय शमशुद्दीनले भने, “म शून्यबाट हिरो भएको छु ।” शमशुद्दीनको कार्यालयमा एएफपीसँग कुरा गर्दा मजदूरहरु जर्मनीको एस्प्रिट ब्रान्डका लागि तयारी पोशाक सिलाउँदै थिए ।
सडक, बन्दरगाह र ऊर्जाको सुविधा जस्ता पूर्वाधारमा धेरै राम्रो गरेकामा हसिना सरकारको प्रशंसा गर्दै शमशुद्दीनले १६ करोड ८० लाख जनसंख्याका लागि मुलुकमा समृद्धिको नयाँ युग शुरु हुन लागेको बताए । सन् १९७१ मा बङ्गलादेश रक्तरञ्जित युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएको थियो । यस युद्धमा ३० लाखभन्दा बढी मानिस मारिएका थिए ।
त्यसबखत बङ्गलादेशका ८० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि थिए । भोकमरि र सैन्य सत्ताविद्रोह नियमित झैं थिए भने जुट उद्योग समेत अधिकांश उद्योगहरुमा पाकिस्तानी व्यवसायीको स्वामित्व थियो ।
अहिले, बङ्गलादेशको परिस्थिति फेरिएको छ । विगत चार दशकदेखि बङ्गलादेशका बारेमा गहिरो अध्ययन गर्नु भएका नर्वेजियाली अनुसन्धाता एरिक जी जान्सेनका अनुसार, बङ्गलादेशमा गरिबीको रेखामुनिको जनसंख्या अहिले १० प्रतिशतको हाराहारीमा मात्र छ ।
मुख्य बाली धानको उत्पादन तीन गुणाभन्दा बढी भइसकेको छ । सन् १९७१ मा मानिसको औसत आयु ४१ वर्ष रहेकामा अहिले त्यो ७३ वर्ष पुगिसकेको छ ।
विगत एक दशकमा बङ्गलादेशको अर्थतन्त्र वार्षिक ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ र सन् २००० देखि प्रतिव्यक्ति जीडीपी पनि तीन गुणाभन्दा बढीले वृद्धि भएको छ । प्रधानमन्त्री शेख हसिनाको सरकारले सन् २०४१ सम्ममा बङ्गलादेशलाई “विकसित मुलुक”मा रुपान्तरण गर्ने योजना अघि सारेका छन ।
आर्थिक पक्षमा बङ्गलादेशले तिब्र गतिमा प्रगति गरिरहे पनि अधिकारकर्मीहरुले प्रधानमन्त्री हसिनाको शासनकालमा मानव अधिकार उल्लङ्घनका घटना बढेकामा सर्वत्र चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री हसिना सन् २००९ देखि लगातार बङ्गलादेशको प्रधानमन्त्री छिन । उनी बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानकी छोरी पनि हुन । मुख्य विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को अवस्था नाजूक छ । पार्टी अध्यक्ष एवं हसिनाकी मुख्य प्रतिद्वन्द्वी खालेदा जिया हाल भ्रष्टाचारका कारण जेलमा छिन ।
बीएनपीको भनाईमा आफ्ना कम्तीमा ३५ लाख कार्यकर्ता र समर्थकमाथि सन् २०१२ देखि मुद्दा लगाइएको छ । ठूलो संख्याका व्यक्तिहरु अहिले पनि जेलभित्र छन् । सुरक्षाकर्मीले गिरफ्तार गरिएका अरु पनि सैयौं व्यक्ति बेपत्ता छन्, बीएनपीको भनाई छ ।
सरकारी अधिकारीहरुले सरकारको आलोचना गर्नेमाथि कडा कारबाही गर्ने गरेका छन् । खासगरी अनलाइन वा सामाजिक सञ्जाल फेसबुकबाट हुने आलोचनालाई बङ्गलादेशमा कडा कारबाही हुने गरेको छ ।
सरकारले “डिजिटल सुरक्षा” कानुन समेत ल्याएको छ र यही कानुनको आडमा सरकारले सयौं पत्रकार, अधिकारकर्मी र अन्य व्यक्तिलाई गिरफ्तार गर्ने गरेको अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।