काठमाडौं । नेपाल कुखुराको अण्डा, माछा र मासुलगायतका पशुजन्य उत्पादनमा आत्मर्निभर बनेको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कार्यक्रम गर्दै पशुजन्य वस्तुको उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेको हो ।
नेपालमा वार्षिक १ अर्ब ६० करोड गोटा अण्डा र २ लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको मन्त्रालयले जनाएको छ । समग्र पोल्ट्री क्षेत्रमा ५ लाखले रोजगारी सिर्जना भएको मन्त्रालयले जानकारी दिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका छन । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।
अण्डा उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको छ । मासु प्रतिव्यक्ति प्रतिवर्ष १८ किलो पुगेको सो अवसरमा जानकारी गराइयो । माछा प्रतिव्यक्ति ३.५ किलो उत्पादन भएको छ । दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा ७९ लिटरमात्र उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पशुजन्य उत्पादनमा आत्मनिर्भर हुँदा किसानको आम्दानी र रोजगारी सिर्जना हुने बताए । उनले ठूलो स्केलको उत्पादनमा जोड दिन सकेमा किसानको आम्दानी र आत्मनिर्भर बन्ने विचार व्यक्त गरे ।
रकम, श्रम र प्रविधिको सन्तुलनबाट कृषि क्षेत्रमा विदेशी लगानी शर्तसहित ल्याउन खोजिएको उनले स्पष्टपारे । ७५ प्रतिशत वस्तु निकासी गर्ने र स्वदेशमा बढि भएको दुधको खपत गर्न पनि विदेशी लगानी आउनुपर्ने उनको भनाई छ।
सरकारले किसानको आम्दानीलाई बचत हुने स्तरमा लैजान बिमा प्रिमियम रकम घटाउँदै लगिने बताए । त्यसका लागि बैंकलाई पनि कृषि र पशुपन्छी बिमा प्रिमियम शुल्क घटाउन आग्रह गरे ।
उनले नेपालमै विद्युतबाट रासायनिक मल कारखाना खोल्ने गरि डेडिकेटेड प्रोजेक्ट नै बनाइने प्रधानमन्त्री ओलीले बताए । यस्तै बढी भएको बिजुलीबाट महंगो लागतमै भए पनि मल कारखाना खोली विदेशबाट मल आयातको परनिर्भरता अन्त्य गर्ने प्रधानमन्त्रीको भनाई छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पशुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भरतातर्फ सहयोग पुर्याउने किसान र उद्योगी व्यवसायीलाई धन्यवाद दिइन् । हिजो सुस्ताएका उत्पादनका क्षेत्र अहिले नयाँ फड्को मारेको उनले बताइन् ।
उत्पादनको खपत र बजारीकरणको व्यवस्थापनमा सरकारले लगानी गर्ने उनले बताइन । उनले दूध र माछामा पनि छिट्टै पूर्ण आत्मनिर्भरको घोषणा गर्ने मन्त्री अर्यालले जानकारी दिइन ।
अब कृषि कर्मबाट बेरोजगारी अन्त्य गर्न पाठ्यक्रम र विद्यालयदेखि नै अभियान अघि बढाउने तयारी भइको मन्त्री अर्यालले जानकारी दिइन । मन्त्री अर्यालका अनुसार त्यसका लागि एकीकृत कृषि शिक्षा अभियान सुरु हुने भएको छ ।
अण्डा र मासुमा मुलुक पूर्ण आत्मनिर्भर बनेको छ । दूध उत्पादन पनि बढेर आत्मनिर्भर उन्मुख बनेको मन्त्रालय पशुपन्छीतर्फका सचिव पेमनारायण कँडेलले जानकारी दिए ।
आत्मनिर्भर हुनका लागि उत्कृष्ट योगदान पुर्याउने पूर्व सचिव कृष्णचन्द्र पौडेल, मत्स्यपालक किसान रामशोभित मुखिया, पोल्ट्री किसान गुणचन्द्र बिष्ट, सुजल डेरीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, बंगुरपालक किसान कलावती भट्ट, च्याङ्ग्रापालक किसान माया बिष्ट, दूध ढुवानी प्रतीक लोगो डिजाइन गर्ने सुयोगराज काफ्ले, उन्नत गाइपालक शुस्मा शर्मा,एकता महिला समूह सुर्खेतकी सचिव तथा बाख्रापालक किसान मुना पोखरेल लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियोे ।