काठमाडौं । अहिले काठमाडौंका हरेक गल्ली र चोकमा पठाओ लेखेका मोटरसाइकल र स्कुटरहरु छ्यापछ्याप्ती देखिन थालेका छन् । कुनै नयाँ मान्छे देखे वा भेटेमा कुन ठाउँमा जाने र कतिमा जाने भनेर बार्गेनिङ गरिहाल्छन् । उनिहरुले यात्रुहरुलाई तानातान समेत गर्न भ्याउँछन् ।
यस्तै व्यवहार ट्याक्सीहरुले गर्दा यात्रुहरुले सास्ती खेपेका थिए । नयाँ शैली र अनलाइनबाट बुकिङ गरेपछि तुरुन्त आउने र दुरी अनुसारको पैसा तिर्ने भएपछि राइड सेयरिङ कम्पनी टुटल र पठाओमा यात्रुहरुको आकर्षण बढेको थियो । तर, पछिल्लो पटक पठाओले आक्रमक शैलीमा राइडरको संख्या बढाएपछि यसलाई कम्पनीले नै नियमन गर्न समस्या परेको छ ।
यहि समस्याकै कारण सोमबार काठमाडौंको गोंगबुमा पठाओका राइडर र ट्याक्सी चालकबीच हात हालाहाल नै भयो । ट्याक्सीले जस्तै यात्रु कुरेर बार्गेनिङमा जान खोजेपछि झगडा भएको प्रत्यक्षदर्शी बताउँछन् ।

ट्याक्सीले बार्गेनिङ गर्ने र मिटरमा जान नमानेर हैरान भएका यात्रुहरु पठाओ र टुटलबाट केहि राहतको महसुस गरेका थिए । तर, पछिल्लो समय त्यहि पठाओले ट्याक्सीले जस्तै मोलमोलाइ गर्ने र अफलाइनमा हिड्न थालेपछि चौतर्फि विरोध हुन थालेको छ ।
यसरी दुई पक्षबीच झगडा भएको घटना पहिलो भने हैन । आफ्नो ग्राहकहरु पठाओ र टुटलले खोसेको भन्दै लामो समयदेखि ट्याक्सी व्यवसायीले विरोध गर्दै आएका छन् ।
कम्पनीका अनुसार पठाओमा ९० हजार मोटरसाइकल र स्कुटर दर्ता छन् । धेरै राइडर हुँदा यात्रु पाउने समस्याले राइडरले अफलाइनमा पनि यात्रु खोज्न थालेपछि समस्या देखिएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा सक्रिय भुवन थापाले केहि दिनअघि लेखेका छन्,‘पठाओ चालक कोटेश्वर र कलंकी चोकमा ड्रेस लगाएर ट्याक्सी जसरी यात्रुसंग बार्गेनिङ गर्न थालेछन् । सिस्टममा पनि नजाने, आफै कुरा मिलाउने र बोकेर कुद्ने’ ।
आक्रामक रुपमा बजार विस्तार गर्दै राइडर थप्दै आएको पठाओले व्यवस्थापन गर्न नसकेकै कारण अहिलेको दुर्घटना निम्तिएको पठाओका एक राइडरले बताए ।
यो एक उदाहरण मात्र हो, यस्ता दृष्यहरु धेरै देखिन थालेका छन् । यस्ता दृष्यले पठाओले विस्तारै आफ्नो विश्वास गुमाउँदै गएको छ । यसको लोकप्रियता समेत कम हुँदै गएको छ । ट्याक्सीको विकल्पको रुपमा हेरिएको पठाओबाटै यात्रुहरुले दुःख पाउन थालेका छन् । यस विषयमा सम्बन्धित निकाय मौन छ ।पठाओका क्षेत्रिय निर्देशक असिममान सिंह बस्नेतसँग यस विषयमा बुझ्न खोज्दा उनले फोन उठाएनन् ।
सहज र सरल तरिकाले एपमार्फत राइड सेयरिङ सर्भिस, सामान डेलिभरी, खाना डेलिभरी सेवा दिने उद्धेश्यका साथ नेपालमा २०७५ सालबाट सुरु भएको हो । बंगलादेशमा निकै लोकप्रिय बनेको पठाओ पछिल्लो समय लोकप्रियसँगै विवादमा समेत परिरहेको छ ।
अहिले पठाओ नेपालको एप साढे १२ लाख डाउनलोड भइसकेको छ । यस्तै ९० हजार राइडर र ड्राइभरको एप डाउनलोड भएको छ । त्यस्तै ट्याक्सी ड्राइभरको संख्या २ हजारभन्दा बढी पुगेको जनाएको छ ।
यसैबीच प्राविधिक समस्या आएको भन्दै पठाओले केहि समय अघिबाट आफ्नो सेवा बन्द गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ । कस्तो समस्या आएको र कहिलेबाट सेवा सुरु गर्ने भन्ने जानकारी भने दिएको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि (बुधबार) देखि पठाओ सेवा सञ्चालन हुन नदिने जनाएको छ । पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओ चल्न नदिने जनाएको हो ।