वीरगन्ज । विश्व बजारमा महँगा गाडीको कोटीमा उभ्याएका दर्जनाैं कार वीरगन्ज सुक्खा बन्दरगाहमा लामो समयदेखि अलपत्र अवस्थामा छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा विद्युतीय गाडीको भन्सारदरमा हेरफेर गरेपछि करोडौं मूल्य पर्ने गाडीहरू कवाडीका परिणत हुन थालेका छन् ।
अउडी, ज्यागुअर, टेस्ला, बीएमडब्ल्यू, एमजी, कियालगायत आधादर्जन ब्रान्डका कार सुक्खा बन्दरगाहमै अलपत्र अवस्थामै छन् । व्यापारीले बजेट आउनुपूर्व विश्वका विभिन्न देशबाट महँगा गाडी मगाएका थिए । तर, बजेटले विद्युतीय कारमा व्यापक करको दरमा हेरफेर गरेपछि ती गाडी सुक्खा बन्दरगाहमै अलपत्र अवस्थामा छन् ।
एकातिर व्यापारीको ठूलो रकम त्यहाँ फसेको छ भने अर्कोतिर सुक्खा बन्दरगाहमा ठाउँको अभाव पनि छ । वीरगन्ज सुक्खा बन्दरगाहमा २०२१ फेब्रअरीमा २ वटा टेस्ला, २०१९ नोभेम्बरमा ३ वटा आउडी, २०२० जुलाइमा ४५ वटा निरो, जुलाई २०२० मा २ वटा बीवाइडी, मार्च २०१८ मा ८ वटा एमजी, २०२० मार्चमा १२ वटा साना विद्युतीय कार, २०१० जनवरीमा २ वटा पिगोट कार सुक्खा बन्दरगाहमा आइपुगेका थिए । तर, आयातकर्ताले अहिलेसम्म ती गाडी भन्सार पास गराएका छैनन् ।
सुक्खा बन्दरगाहको व्यवस्थापनको जिम्मेवारी पाएको प्रिन्टिन भ्यालीले पटक–पटक आयातकर्तालाई गाडी भन्सार पास गराउन ताकेता गरे पनि अहिलेसम्म भन्सार पास भएका छैनन् ।
त्यहाँ रहेका कतिपय गाडीका सिसासमेत पुटिसकेका छन् । टेस्ला, औडी, ज्यागुआरलगायतका गाडी पनि कवाडीमा परिणत भइसकेका छन् । ‘यहाँ सन् २०१७ देखिका गाडी रोकिएर बसेका छन्,’ वीरगन्ज सुक्खा बन्दरगाह भन्सारका अधिकृत चूडामणि कट्टेलले भने, ‘हामीले बारम्बार गाडी छुटाउन आयातकर्ता व्यापारीलाई आग्रह गरे पनि उनीहरूले कुनै चासो दिएका छैनन् ।’
आयातकर्ताले सुक्खा बन्दरगाहमा पार्किङ शुल्क तिरेर बसेका छन् । तर, भन्सार पास गरेका छैनन् । भन्सारमा गाडी आइपुगेपछि आयातकर्ता ग्राहक खोज्न थाल्छन् । सरकारले त्यही बेला कर बढाएपछि महँगा गाडी किन्ने ग्राहक नभए भन्सारमै ती कार थन्किएका छन् ।
नेपालभित्र केही टेस्ला गाडी भित्रिसकेका छन् । आउडी र ज्यागुआर गाडी पनि आइसकेका छन् । तर, अझै पनि ठूलो परिमाणमा त्यस्ता गाडीहरू भन्सारमै रोकिएर बसेका छन् । सरकारले बजेटमार्फत कर बढाए पनि बीचमा केही पुनरावलोकन गरेको थियो । तैपनि उनीहरूले भन्सारबाट गाडी नेपाल भित्र्याएका छैनन् ।
तेस्रो मुलुकबाट आयात भई आएका विलासी कार जिपको भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिभृद्धि कर तथा सडक सम्भार दस्तुर गरी करिब सवारीसाधनको मूल्यभन्दा झण्डै डेढ सय प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले आयातकर्ताले ग्राहक पाएपछि मात्र यस्ता कार जिप छुटाउने गरेको भन्सार अधिकृतको भनाइ छ ।
आयातकर्ताले प्रदर्शनी कक्षमा राखिएका गाडी देखाएर गाडी बुक गर्ने गरेको र सोबापत अग्रिम रकम प्राप्त भएपछि मात्र गाडी छुटाउने प्रक्रिया अगाडि बढाउने गरेका छन् ।