काठमाडौं । गुण एयरलाइन्सले पाँचवटा जेट स्ट्रिम जहाज किनेको छ । एटीआर जहाज खरिद गर्ने योजना बनाएको गुणले कोभिडका कारण पहिलो चरणमा पुरानै जहाज सञ्चालन गर्ने निर्णय गरेर जेटस्ट्रिम जहाज खरिद गरेको प्रवक्ता प्रज्वलजंग थापाले जानकारी दिए ।
गुणले यती एयरलाइन्सबाट सो जहाज खरिद गरेको हो । यतिले एकै किसिमको जहाज मात्र सञ्चालन गर्ने योजनाका साथ जेट स्ट्रिम जहाज बेचेको हो । योसँगै गुणसँग जहाजको संख्या ७ पुगेको छ ।
नयाँ जहाज ल्याएसँगै अब सिम्रिक एयरलाइन्स गुणको नाममा उडान गर्नेछ । वैशाखको पहिलो सातादेखि नै नयाँ नाममा उडान गर्न आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ । नेपाली हवाई उड्डयन क्षेत्रमा सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्स पुनः सोही नाममा नेपाली आकाशमा सेवा दिन तयार भएको हो ।
सन् २०१३ देखि सिम्रिक एयरलाइन्सको नाममा सञ्चालनमा रहेको थियो । सिम्रिकबाट क्याप्टेन रामेश्वर थापा बाहिरिएपछि राजेन्द्र शाक्य आफैंले मात्र सञ्चालन गर्दै आएका थिए ।
नयाँ र आक्रामक बजार हिंसा ओगट्ने रणनीतिका साथ शाक्यले आफ्नो पुरानै ब्राण्डाबाट उडान गर्ने योजना अनुरुप नाम परिवर्तनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएको थियो । प्रस्ताव पास भएसँगै नयाँ लोगोका साथ उडान गर्ने भएको हो ।
शाक्यले लामो समयदेखि अपार्टमेन्ट, हाउजिङ र जग्गाको व्यवसाय गर्दै आइरहेका छन् ।
गुण कोलोनी, गुण सिनेमा, गुण ज्वेलरी, गुण कोपरेटिभ, सनसाइन अपार्टमेन्ट, डेज इन होटल, किस्ट मेडिकल कलेज, एपीवान टेलिभिजन, हिरो मोटरसाइकल, दरबार मललगायत दर्जनौं क्षेत्रमा लगानी गरेका शाक्य पछिल्लो पटक हरेक व्यवसायमा सफलता प्राप्त गरेका छन् ।
हाल १८ सिट क्षमता भएको २ वटा अमेरिकीबीच जहाजद्वारा पोखरा भरतपुर भैरहवा र माउन्टेन फ्लाइट गरिरहेको थियो । पुनः गुण एयरलाइन्समा नाम परिवर्तन भएसँगै आफ्नो विमान संख्या थप गर्दै आक्रामक तरिकाले नेपाली आकाशमा सेवा गर्न आउने प्रवक्ता एवं बजार प्रमुख थापाको भनाइ छ ।
जेट स्ट्रिम जहाजद्वारा नेपालको अधिकांश ट्रन्क स्थानहरू सिमरा भरतपुर जनकपुर भद्रपुर विराटनगर नेपालगन्ज तुम्लिङटारलगायत अन्य स्थानहरूमा सेवा बिस्तार गर्ने योजना रहेको छ ।