काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)का बीच नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा सहभागी हुने भएको छ ।बोर्डको नेतृत्वमा २५ वटा संस्थाले भारतमा आयोजना हुने साउथ एसियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।
मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहितको सहभागिता हुने छ । पर्यटन प्रर्वद्धनका लागि पहिलो छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए ।
‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर, भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौं’।’ उनले भने ।
साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने रग्मीले जानकारी दिए । पछिल्लो पटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौता अनुरुप नेपाल भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।
पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोही अनुरुपको रणनीति समेत बनाएको रेग्मीले जानकारी दिए ।
भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघसंस्था तथा व्यक्तित्वहरुको सहभागिता रहनेछ ।
भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको संक्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरे पनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।
नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए ।
यो वर्ष कोरानाको कारण सहभागी हुन जाने कम्पनीहरुको संख्या केही घटे पनि कोभिडको खोप आइसकेको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेजमार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । जसअनुसार, सहभागी कम्पनीहरुले विभिन्न खालका प्याकेज समेत तयार पारेका छन् ।