काठमाडौं । आफूलाई अपमान गरेको भन्दै नेपाल एयरलाइन्सको क्याप्टेन श्रवण रिजालले अर्का क्याप्टेन उत्सवजीजँग शाहीलाई सुपर न्यूमेरी उडानमा नलगेको पाइएको छ ।
बुधबार काठमाडौं दुबई उडान अघि ‘ब्रिफिङ’को बेलामा दुई क्याप्टेन रिजाल र शाहीबीच वरिस्ठ र कनिस्ठ भन्दै भनाभन भएको थियो । शाही कतार एयरवेजमा १० वर्ष क्याप्टेन भएर काम गरिसकेका व्यक्ति भए पनि नेपाल एयरलाइन्समा केही समयअघि मात्रै आएका थिए ।
रिजाल भने नेपाल एयरलाइन्सका पुराना क्याप्टेन हुन् । विवादको विषय सामान्य भए पनि रिजालले आफूलाई अपमान गरेको भनेपछि समस्या चर्किएको हो ।
नेपाल एयरलाइन्समा आएका शाहीले उडान अघि हुने ब्रिफिङको क्रममा क्याप्टेन रिजाललाई ‘हेल्लो श्रवण’ भनेको विषयमा भनाभन भएको हो । क्याप्टेन रिजालले आफू नेपाल एयरलाइन्सको सिनियर भए पनि शाहीको व्यवहार अपमानजनक भएको भन्दै गाली गरेका थिए ।
शाहीले भने आफूले कतार एयरवेजमा काम गर्दा बोलिने भाषा प्रयोग गरेको क्याप्टेन रिजालसँग बताएका
थिए । केही समय भनाभन भएपछि क्याप्टेन रिजालले शाहीलाई आफ्नो उडानमा नलाने बताए र त्यसैअनुरुप शाही पनि सुपर न्यूमेरी उडानमा सहभागी भएनन् । यद्यपि शाही सुपर न्यूमेरी उडानमा जान चाहेका थिए ।
कुनै पनि नयाँ क्याप्टेन आएपछि दुई पटक सम्बन्धित क्षेत्रको अवस्था र नियम बुझ्न कुनै एक क्याप्टेनसँग सुपर न्यूमेरीको उडानमा सामेल हुनुपर्छ । त्यसका लागि शाही रिजालसँगको उडानमा परेका थिए । शाही नेपाल एयरलाइन्समा नयाँ भएकै कारणले उनले दुईवटा उडान गर्नुपरेको थियो ।
क्याप्टेनहरूबीच समन्वय र सदभाव हुनुपर्ने बेला दुई क्याप्टेनबीच बाझाबाझ हुनु दुःखद भएको एयरलाइन्सका कर्मचारीहरू बताउँछन् । क्याप्टेन रिजालले भने आफूले कुनै दुव्र्यवहार नगरेको प्रतिक्रिया दिएका छन् ।
आफूले यसअघि क्याप्टेन शाहीलाई नदेखेको र नभेटेको हुनाले सिधै हेल्लो श्रवणभन्दा चित्त नबुझेकाले वरिस्ठलाई सम्मान गर्न सिकाएको रिजालले जानकारी दिए । आफ्नो उडानमा शाहीलाई नराखेको नभई उनी आफैं नगएको रिजालले बताए ।
उता, क्याप्टेन शाहीले भने घटनाको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘के भयो भन्ने विषयमा म कुनै कमेन्ट गर्न चाहन्न’ रिजालले भने ।