पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको पर्यटन व्यवसायको आवश्यकता औंल्याए । नेपाल एसोसिएसन टुर एण्ड टाभल्स एजेन्ट्स (नाट्टा) गण्डकीको २६ औं साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले अबको पर्यटन गुजारा चलाउने खालको नभई नयाँ सम्भावनाको खोजी गरेर प्रतिस्पर्धात्मक रूपमा अघि बढ्ने खालको हुनुपर्ने बताए ।
उनले सरकारसँग गुनासो गरेर मात्र नभई आफ्नो क्षेत्रमा दक्षजनशक्ति तयार गरेर सेवा दिन पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले भने, “अब सरकारसँग गुनासो गर्ने तिर मात्र नलाग्नुस, यस क्षेत्रमा दक्ष जनशक्तिको निकै अभाव छ, पर्यटकलाई कसरी उत्कृष्ट सेवा दिएर खुसी बनाउन सकिन्छ त्यता तिर जुट्नुस् ।” उनले व्यवसायीलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।
पोखरा प्रकृति संस्कृति र साहसिक गतिविधिको हब भएकाले पर्यटनको दीर्घकालीन विकासका लागि प्रदेश सरकारले योजनाबद्ध विकास कार्यक्रम तय गरेको उनको भनाइ थियो । उनले आन्तरिक उडानबाट पर्यटन प्रवद्र्धन साथै पूर्वाधार विकासमा पनि सरकारले तयारी गरेको बताए ।
“हामी व्यवस्थित योजनाका लागि गृहकार्यमा छौं, निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अघि बढ्छाैं ।” पर्यटन क्षेत्रलाई व्यवस्थित गराउन व्यवसायीबीचको एकता पनि आवश्यक रहेको औंल्याउँदै एकृकीत तथ्यांकका लागि व्यवसायीले सही सूचना दिन नखोजेको बताए ।
“वार्षिक १० लाख पर्यटक आउँछन् भन्ने अनुमान छ तर सही सूचना लिन अझै समस्या छ । व्यवसायीले नै पर्यटकको सही सूचना दिन आनकानी गर्छन्,” मन्त्री लम्सालले श्रममा जोडिएर सरकारलाई नछली नढाँटी वैधानिक बाटोबाट अघि बढ्ने सके समृद्धि हासिल हुने कुरामा जोड दिए ।
विसं २०३५ सालमा सरकारले पर्यटन नीति ल्याएर अघि बढेको र संघीय पर्यटन ऐन आएपछि सो ऐनसँग नबाँझिने गरी प्रदेश सरकारले पर्यटन नीति ल्याउने तयारीमा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नाट्टा केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईंले कोभिड–१९ को कारण द्वन्द्वको समयमा भन्दा बढी पीडा व्यवसायीले खेपिरहेको जनाउँदै सरकारले पर्यटनमैत्री नीति बनाएर व्यवसायीलाई साथ दिन आग्रह गरे ।
लुम्बिनी विकास कोषका सद्भावना दूत एवम् मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार विक्रम पाण्डेले लुम्बिनीको इतिहासलाई उघारेर अन्तर्राष्ट्रिय बजारमा प्रचार–प्रसारको काम गरिएको बताए । उनले बृहत् योजनासहित दीर्घकालीन विकासमा लागेको जनाउँदै लुम्बिनीमा स्वर्ण युगको सुरुआत भएको र लुम्बिनीको विकाससँगै पोखराको पर्यटनमा थप विकास हुने उनको भनाइ थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड पछिको विषम परिस्थितिमा पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए । उनले कम्पनी रजिष्टारको कार्यालय प्रदेशमा नहुँदा व्यवसायीले झझट व्यहोरी रहेकातर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देशसहित संस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित छिमेकी जिल्ला भ्रमणबाट सुुरुआत गरेको जानकारी दिए । उनले पोखरा र नेपालगञ्ज हवाई उडानबाट जोड्न पनि नाट्टा सफल भएको जनाउँदै सरकारले साथ दिए निजी क्षेत्र पर्यटन प्रवद्र्धन गरेर अघि बढ्न सक्ने धारणा राखेका थिए ।
कार्यक्रममा नाट्टा प्रदेश १ का अध्यक्ष उदय श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद अधिकारी (सागर), पूर्वअध्यक्ष परिषद्का अध्यक्ष ओम पाण्डे, सुलीकोट गाउँपालिकाका उपप्रमुख सनमाया गुरुङलगायतले पर्यटन क्षेत्रका सम्भाव्यता, चुनौती आगामी योजनाका बारेमा क्षेत्रगत धारणा राखेका थिए ।
सो अवसरमा मनहरा सिग्देल स्मृति पुरस्कारबाट संस्थाका कर्मचारी देवराज देवकोटालाई नगद १० हजार र संस्थागत योगदान सहित विभिन्न जिम्मेवारी पूरा गरेका सदस्यहरुलाई संस्थाले सम्मान गरेको संस्थाका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए ।