सरकारले सुरु गरेको अझ भनौ प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको पहलमा सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा पुनः एक पटक निजी क्षेत्रको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । आगामी सन् २०४३ सम्म नेपालबाट गरिबी निर्मूल गर्न सरकारले लिएको लक्ष्य महत्वकांक्षी छ । तर, यो असम्भव भने छैन ।
एक जना नेपाली कहिले सुखी होला ? उसको परिवारमा कसैको रोजगारी छ ? उसको घरमा बत्तिको लाइन छ ? इन्डक्सन चुलो छ ?यी कुराहरु सुखी नेपालीको मानक हुनसक्छन् । तर, देश औद्योगिकरणबाट मात्र समृद्ध हुनसक्छ ।
नेपाल सन् २०२६ मा अतिकम विकशित मुलुकबाट विकासशील मुलुक बन्दैछ । हामी सबैका लागि खुसीको कुरा हो । तर, यसका लागि एउटा महत्वपूर्ण ‘क्राइटेरिया’ पुरा गर्न अझै पनि चुनौतीपूर्ण छ, त्यो हो प्रतिव्यक्ति आय । आयमा वृद्धि तब मात्र सम्भव हुनसक्छ जब देशमा स्वदेशी र विदेशी लगानी बढ्छ, औद्योगिकरणले गति लिन्छ र पूर्वाधारमा लगानी बढ्छ ।
तसर्थ म सम्मानीय प्रधानमन्त्री ज्यूसँग उद्योग विस्तार र लगानी प्रोत्साहित हुने वातावरण निर्माण गर्न आवश्यक कदम चाल्न आग्रह गर्न चाहन्छु । औद्योगिक विस्तारका लागि व्यवसायीहरुमा भयमुक्त वातावरण उत्तिकै जरुरी हुन्छ ।
हामी नेपाललाई सानो मुलुक भन्छौं । वास्तवमा ३ करोड जनसंख्या भएको नेपाल सानो होइन, ठूलो मुलुक हो । यो देशको दिगो विकासका लागि औद्योगिक उत्पादन अपरिहार्य छ । औद्योगिकीकरण आर्थिक वृद्धिको चालक हो ।
तर आजको दिनमा अर्थतन्त्रमा उद्योगको योगदान घटिरहेको छ । जुन राम्रो संकेत होइन । हामीले अर्थतन्त्रमा उद्योगको योगदान २० देखि २५ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएर अगाडि बढ्नुपर्छ ।
हो, यहि आवश्यकताहरुलाई मनन् गरेर नेपाल उद्योग परिसंघले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई थप बल दिन ‘मेक इन नेपाल स्वदेशी’ अभियानको शुभारम्भ गरेको छ । सम्माननीय प्रधानमन्त्री ज्यूले यसलाई स्वामित्व ग्रहण गरेर हामीलाई हौसला दिनु भएको छ । म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
हामी विश्वास दिलाउन चाहन्छौं कि स्वदेशी उत्पादन बढाउन र त्यसको उपभोग बढाउन, निर्यात बढाउन र आयात प्रतिस्थापन गर्न यो अभियान प्रभावकारी सावित हुनेछ । यो देशकै अभियान हुनेछ । यो अभियानका ७ स्तम्भहरुबारे तपाईंलाई बताउन चाहन्छु ।
१. नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण बनाउने
२. आयात प्रतिस्थापन
३. पूर्वाधारमा पुँजीगत खर्च
४. सेवा क्षेत्रको आधुनिकिकरण
५. खपत स्तम्भ
६. स्वदेशी बस्तुको उपभोग
७. सरकारले स्वदेशी उत्पादनहरुको उपभोगलाई प्राथमिकता दिने
८. स्थानीय उत्पादनलाई वैदेशिक बजार खोज्ने
हामी ठूलो लक्ष्यका साथ अघि बढिरहेका छौं । र, त्यसका लागि हामीलाई दक्ष मानव स्रोतको आवश्यकता पक्कै पर्छ । त्यसैले, परिसंघले ‘स्किल्ड नेपाल’ अभियानलाई पनि सँगसँगै अघि बढाउने म जानकारी गराउन चाहन्छौं । यसको लक्ष्य अर्थतन्त्रलाई आवश्यक सीपयुक्त मानवस्रोतको उत्पादन हो । यसका अलावा हामी अर्थतन्त्रलाई चलायमान राख्न मेक इन नेपालको प्रतिवेदन र अन्य भावी कार्यक्रममा पनि सुझावहरु दिने नै छौं ।
उद्योगी र व्यापारीले एउटा सम्मानपूर्ण उद्यम र जीवनयापन गर्न चाहेको हुन्छ । नेपालमा अझै पनि त्यस्ता धेरै पुराना कानुनहरु छन् जुन समयानुकुल छैनन् । उदाहरणका लागि कालोबजारी ऐन हो । यो ऐनको अहिले सान्दर्भिकता हराइसकेको छ ।
बरु यसले उद्योगी र व्यवसायीमाझ डर र त्रास मात्र फैलाइरहेको छ । म सम्माननीय प्रधानमन्त्री ज्यूलाई यस्ता कानुनहरुमाथि पुनर्विचारका लागि आग्रह गर्न चाहन्छु । साथै, अपराध प्रमाणित नभएसम्म ‘एन्टीसियपटरी बेल’को प्रावधान ल्याउन अनुरोध गर्छु ।
(प्रधानमन्त्रीले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले व्यक्त गरेका विचार)