वीरगन्ज । नयाँ उद्योग लगाउन वीरगन्ज जतिको उपयुक्त ठाउँ देशमा कतै छैन । वीरगन्जमा उद्योग लगाउँदा देशका सम्पूर्ण भागमा सामान सहजै पठाउन सकिन्छ । त्यही भएर पनि उद्योगीको प्रमुख रोजाइ वीरगन्ज नै बन्थ्यो ।
वीरगन्जमा उद्योग लगाउँदा विराटनगर पनि सहजै र छिट्टै सामान पुर्याउन सकिन्छ । भैरहवा पनि वीरगन्जबाट कुनै टाढा भएन । काठमाडौं त वीरगन्जको प्रमुख बजार नै भइहाल्यो ।
एकातिर देशका जुनसुकै भागमा सामान पुर्याउन सकिन्छ भने अर्कोतिर भारतबाट पनि छिटो, छरितो र सस्तो मूल्यमा कच्चा पदार्थ ल्याउन सकिन्छ । देशको ठूलो नाका वीरगन्जमै छ । त्यहाँको नाकामा रेलको पनि सुविधा छ । त्यस हिसावले पनि उद्योग खोल्न वीरगन्ज उपयुक्त ठाउँ हो ।
कोलकाता सुक्खा बन्दरगाह मात्रै होइन्, विशाखापट्म सुक्खा बन्दरगाह पनि वीरगन्जबाट नजिकै छ । सबै कुराले साथ दिँदा पनि वीरगन्जले आफ्नो औद्योगिक नगरीको परिचय विस्तारै गुमाउँदै गएको छ ।
‘बाह्य कुराले साथ दिए पनि आन्तरिक रूपमा व्यवस्थापन गर्न नसक्दा वीरगन्ज औद्योगिकबाट व्यापारिक नगरीका रूपमा परिणत हुँदैछ,’ प्रेष्टिज ग्रुपका प्रबन्ध निर्देशक विनय साहले भने, ‘वीरगन्ज यस्तो ठाउँ हो, जहाँबाट देशका हरेक क्षेत्रमा सस्तो मूल्यमा सामान पठाउन सकिन्छ । तैपनि राज्यले उचित व्यवस्थापन गर्न नसक्दा वीरगन्जले आफ्नै औद्योगिक नगरीको परिचय गुमाउँदै गएर व्यापारिक नगरीका रूपमा परिणत हुँदै छ । जुन देशका लागि दूरभाग्य हो ।’
वीरगन्जमा उद्योग लगाउने वातावरण गुम्दै गएको छ । त्यसका पछाडि विभिन्न कारण छन् । पहिलो कारण भनेको– जग्गाको मूल्य अत्यधिक महँगो । भूमाफियाले वीरगन्जका सम्पूर्ण जग्गा कब्जा गरेको र उनीहरूले नै मनलाग्दी मूल्य निर्धारण गरेर बेच्न थालेकाले यहाँ उद्योग लगाउन सकिने अवस्था नभएको साह बताउँछन् ।
अहिले बारा–पर्सा औद्योगिक करिडोरमा १ बिघा जग्गा चाहियो भने कम्तीमा २० करोड रुपैयाँ त जग्गामै जाने अवस्था छ । यति महँगोमा जग्गा किनेर उद्योग चलाउनै नसकिने साह बताउँछन् ।
उद्योगी मनोज दासका अनुसार औद्योगिक कोरिडोरमा जग्गाको भाउ आकासिएपछि जग्गामा बढी पुँजी खन्याउनु परेको छ । बारा–पर्सा कोरिडोरमा नयाँ उद्योगका लागि जग्गा व्यवस्थापन असहज भइसकेको दास बताउँछन् ।
त्रिभुवन राजपथको गण्डकदेखि पथलैयासम्म करिब १ हजार साना/ठूला उद्योग छन् । बारा–पर्सा योजनाबद्ध तरिकाले औद्योगिक कोरिडोरका रूपमा विस्तार भएको होइन । मुख्य नाकासँग जोडिनु र सहज सम्पर्कसहित देशको मध्यभागमा रहनुले एकपछि अर्को उद्योग खोल्न सहज मानिन्छ ।
कोरिडोरमा उद्योगका लागि उपयुक्त जग्गा फेला पार्ने कठिन भइसकेको छ । मुख्य मार्ग दायाँ–बायाँको जग्गा कट्ठाको १ करोड रुपैयाँभन्दा कममा नपाइने वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल बताउँछन् । ‘भित्री सडकमा समेत कट्ठाको २५÷३० लाखमा जग्गा किनबेच भइरहेको छ । जग्गामा महँगो मूल्य हालेर उद्योग चलाउनु अब सहज छैन,’ राजपालले भने ।
जग्गाको महँगो लागतले उद्योगको स्थिर पुँजीमा लगानी बढेको छ । यसको प्रत्यक्ष असर वस्तुको उत्पादन लागतमा जोडिने त्यहाँका उद्योगीहरूको भनाइ छ । सरकारले उत्पादन प्रवद्र्धनको नीति लिनुपर्ने र उत्पादनलाई प्रतिस्पर्धी बनाउन स्थिर पुँजीको लागत घटाइनुपर्ने उद्योगीको सुझाव छ ।
वीरगञ्जभरका जग्गा भूमाफियाको कब्जामा छ । भएभरका जग्गा प्लटिङ गर्ने र घडेरीका रूपमा बिक्री गर्ने काम भइरहेको छ ।
भूमाफियाले स्थानीयवासीबाट सम्पूर्ण जग्गा लिने र घडेरी बनाएर बेच्ने गर्ने प्रवृत्ति मौलाउँदै गएकाले औद्योगिक वातावरण बिथोलिँदै गएको साह बताउँछन् । जग्गाको मूल्य त छोइनसक्नु छँदै छ । त्यसबाहेक उद्योगबाट निस्किएको फोहोर व्यवस्थापन थप चुनौती बन्दै गएको छ । सरकारले फोहोर व्यवस्थापनका लागि उचित व्यवस्थापन गर्न नसक्दा नयाँ उद्योग खोल्ने वातावरण झन खल्बलिएको छ ।
वीरगन्जभर साना ठूलो उद्योगको संख्या २ हजारभन्दा माथि छन् । ती उद्योगबाट निस्किएको कतिपय फोहोरहरू पुनः प्रयोगमा आउँछन् । तर, कतिपय फोहोर पुनः प्रयोगमा ल्याउन सकिँदैन । त्यो फोहोरलाई फ्याल्नुको बिकल्प हुँदैन ।
नदी तथा खोलामा उद्योगबाट निस्किएको फोहोर फाल्न मिल्दैन । स्थानीयले दुरगन्ध भयो भनेर उद्योगमाथि नै खनिन्छन् । ‘यस्तो अवस्थामा कसरी उद्योग चलाउन सकिन्छ ?’ वीरगन्जका प्रतिष्ठित उद्योगीसमेत रहेका साहले भने, ‘पहिलो कुरा जग्गा पाउन कठिन । बल्ल–बल्ल महँगो जग्गा किनेर उद्योग लगायो । फोहोर व्यवस्थापनले हैरान बनाउँछन् ।’
उद्योग लगाउने बेला उद्योगको वरिपरि कुनै बस्ती हुँदैन । उद्योग लागेपछि विस्तारै बस्ती बाक्लिँदै जान्छ । पछि गएर त्यही बस्तीले उद्योग हटाउनुपर्यो भनेर हार गुहार गर्न थाल्ने उद्योगीहरू बताउँछन् ।
यदि वीरगन्जको स्थानीय सरकार र केन्द्र सरकारले भूमाफियाको कब्जाबाट जग्गा नपुत्काउने हो र फोहोर व्यवस्थापनका लागि उचित कदम नचाल्ने हो भने निकट भविष्यमा नयाँ उद्योग लगाउने सोच त परै जाओस्, भएका उद्योगसमेत बन्द गर्नुपर्ने अवस्था आउने उद्योगीहरू बताउँछन् ।
कुनै झन्झट छैन व्यापार गर्न
वीरगन्जका उद्योगीले पनि विस्तारै व्यवसायलाई व्यापारमा सिफ्ट गर्न थालेका छन् । बैंकले सहजै ऋण दिने, राम्रो नाफा कमाइने, कुनै झन्झन व्यहोर्न पनि नपर्ने र सरकारले पनि मनग्य राजस्व पाइहाल्ने भए पछि सबैको ध्यान व्यापारतिर केन्द्रित भएको छ ।
‘विदेशमा उत्पादन भएको सामान ल्याएर बेच्दा देशलाई कति घाटा हुन्छ भन्ने कुराको कसैले ख्याल गरेको छैन,’ साह भन्छन्, ‘सहजै पैसा कमाउनेतिर ध्यान केन्द्रित गर्दा देशको अर्थतन्त्रको जग कहिल्यै दरिलो बन्दैन ।’ आयात व्यापारले देशलाई परनिर्भरतिर धकेल्ने उनको बुझाइ छ ।