काठमाडौं । पछिल्लो समय स्वदेशमा कामको अवसर नदेखेर अधिकांश नेपाली युवाहरू बिदेसिएका छन् । राम्रा विषय लिएर ‘ब्याचलर’ मा उच्च अंक ल्याउँदा पनि स्वदेशमा कामै पाइएन भनेर त्यतिकै भौतारिनुपर्ने वा बेरोजगारी बस्नुपर्ने बाध्यता कायमै छ ।
त्यस्ता शिक्षित युवा जनशक्ति पनि पसिना र श्रम बेच्न बिदेसिन बाध्य भएका छन् । तर, केही त्यस्ता युवाहरू पनि छन्, जसले आफूले पढेको कुरा व्यावहारिक रूपमा लागू गर्छन् । अर्थात, आफूले जे पढेको छ । त्यसलाई कर्म गर्न उद्धत हुन्छन् । त्यसमध्येका एक हुन्, नवलपरासी कावासोती–१० मगरकोटका सन्देश तिमल्सेना ।
पेशाले उनी कृषिका विद्यार्थी हुन् । प्लस टु साइन्स चितवनकै भरतपुर क्याम्पसबाट सकाएका उनलाई कृषि पढ्ने रुचि जाग्यो । उनीले चितवनकै रामपुर क्याम्पसमा कृषि विषयमा चार वर्षे ‘ब्याचलर’ तह पूरा गरे । कृषि पढे पनि विदेश जाने चाहना उनमा नभएको होइन, थियो नै । त्यसका लागि उनले विदेश जानका लागि ‘जियारी कोर्स’ पनि गरेको सन्देश सुनाउँछन् । भन्ने बित्तिकै विदेश जाने भिसा आएन । त्यस अवधिमा उनी जुम्ला, बैतडी र डोटीलगायतका जिल्लामा जागिर गर्न गए ।
उनले यूएसआईडीको विभिन्न परियोजनामा पनि काम गरे । उनले करिब साढे २ वर्ष बिकट जिल्लाहरूमा पुगेर काम गरे । कृषि विषयको अध्ययन टुंगिएको थिएन । सिक्दै पढ्ने र त्यसलाई काममार्फत नै व्यावहारिक बनाउने उनको सोच थियो ।
त्यसअनुसार उनले चार वर्षअघि आफ्नै लगानीमा एक बिघा जमिन लिजमा लिएर तरकारी र फलफूलको खेती गर्न सुरु गरे । सुरुमा एकवटा टनेलमा तरकारी लगायतको खेतीपाती सुरु गरेका उनले अहिले आफ्नो कृषि कर्म विस्तार गर्दैै लगेका छन् । कावासोती नगरपालिका–१६ र १७ मा उनको साढे २ बिघा जमिनमा तरकारी, फलफूल र खेतीपाती छ । मुख्य गरी टमाटर, भन्टा, पेप्सिकम, काक्रोलगायतका तरकारी उनले उत्पादन गर्दै आएका छन् ।
आफैं जैबिक विषादी बनाउँदा लागत सस्तो
उनले तरकारी वा फलफूलमा लाग्ने कीरा नियन्त्रण गर्न जैविक रूपमा नै विषादी बनाउने गरेका छन् । फस्फोरस र क्याल्सियम तत्व भिटामिनको रूपमा बिरुवामा छर्न उनले आफैं विषादी बनाउने गर्छन् । फालिएका हड्डीहरू संकलन गरी त्यसलाई कालो अंगार बनाएर २०० ग्राम अंगार र १ लिटर अग्र्यानिक भिनेगर मिसाएर एक हप्तापछि बिरुवालाई चाहिने फस्फोरस तत्व तयार हुन्छ । त्यो बिरुवामा छर्ने गरिन्छ । यसले बिरुवालाई भिटामिन प्रदान गर्छ भने कीरा नष्ट गर्न मद्दत पुग्ने सन्देश बताउँछन् ।
त्यस्तै, उनले फालिएका अण्डाका खोलहरू भुट्ने र त्यसलाई २०० ग्राम अण्डाको खोल र एक लिटर भिनेगर मिसाएर बिरुवालाई चाहिने क्याल्सियम भिटामिन जैबिक रूपमा तयार गर्ने गर्छन् ।
कृषिको अध्ययन र अनुसन्धानमै रहेका सन्देश भन्छन्, ‘जैबिक विषादीको प्रयोगले कृषि उत्पादन अग्र्यानिक हुन्छ भने महँगोमा किन्नुपर्ने विषादी आफैं सस्तोमा बनाउन सक्छौं ।’
उनका अनुसार, बिरुवालाई चाहिने फस्फोरस तत्व विषादीको रूपमा बाहिर बजारमा किन्दा ९ सय रुपैयाँसम्म पर्ने गर्छ । तर, आफैंले बनाउँदा कम्तीमा २ सय रुपैयाँमा जैबिक विषादी तयार गर्न सकिने तिमल्सेना बताउँछन् । एक त विषादी जैबिक प्रकृतिको हुन्छ भने अर्कोतर्फ लागत नै धेरै सस्तो पर्ने उनी बताउँछन् । जैबिक सल्फर विषादीमै जोड दिन उनको किसानलाई आग्रह छ ।
लगानी ४० लाख, पीएमएएमपीको २ लाख सहयोग
उनले कृषि फार्म पनि आफैंले बनाएको जैबिक विषादी प्रयोग गर्ने गरेका छन् । जैबिक विषादीको अनुसन्धानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २ लाख सहयोग प्राप्त भएको उनी बताउँछन् ।
हालसम्म हेर्दा उनले जग्गा, संरचना, सिँचाइलगायतका कृषि कर्ममा झन्डै ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् । साढे २ वर्ष दुर्गम क्षेत्रमा जागिर खाँदा थोरै–थोरै बचत गरेको रकम र बैंकबाट ऋण लिएर उनले कृषिमा लगानी गरेका छन् ।
पछिल्लो युवापुस्तामाझ उनी उदाहरणीय बनेका छन् । उनी भन्छन्, ‘कृषि बिना नेपालको विकास सम्भव छैन । अहिलेका युवाले कृषि नगरे कसले गर्ने ? गरेर नसकिने भन्ने केही छैन ।’
नीतिगत रूपमा सरकारले सहजीकरण हुनुपर्ने
कृषि कर्ममा केही गर्छु भन्ने युवा जनशक्ति वा अन्य किसानलाई सरकारले नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने बताउँछन् । ‘सुरुमा मलाई नै जग्गा खोज्न अप्ठ्यारो भयो । जुन अहिले पाएको जग्गा मुस्किलले पाएँ,’ उनी थप्छन्,
‘व्यावसायिक रूपमा खेती गर्न चाहनेलाई सरकारी संयन्त्रमार्फत जग्गा उपलव्ध हुनुपर्यो ।’ भारतबाट आयातित वस्तुले कृषिजन्य उपजको उचित बजारीकरण हुन नसक्नु मुख्य चुनौती रहेको उनी बताउँछन् ।
‘स्वदेशी उत्पादन हुँदासम्म विदेशबाट वस्तु मगाउन नपाउने तर, उत्कृष्ट र अग्र्यानिक तरकारी ल्याउनुपर्छ । त्यसका लागि बजार व्यवस्थापन राम्रो हुनुपर्छ,’ उनले भने । कृषिमै काम गर्छु भन्ने युवा वा किसानलाई सहज ढंगले सहुलियतपूर्ण ऋण उपलब्धतामा पनि समस्या रहेको उनी बताउँछन् ।