काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले गत फागुन ६ गतेदेखि कालापत्थरमा हेलिकप्टर अवतरणमा रोक लगायो । सिम्रिक हेलिकप्टरले अनुमति विना नै सगरमाथाको कालापत्थरमा भारतीय पत्रकारलाई लगेर भिडियो समेत खिचेको विषयमा विवाद भएपछि निकुञ्जले बन्यजन्तु र वातावरणको विषयसमेत समेटेर कालापत्थरमा हेलिकप्टर अवतरणमा रोक लगाएको जनाएको थियो ।
निकुञ्जले एक महिनादेखि कालापत्थरमा हेलिकप्टर रोक लगाउनाले कोभिडपछि तङ्ग्रिन लागेको पर्यटन क्षेत्र र हेलिकप्टर व्यवसायमा समेत पुन धक्का लागेको भन्दै कम्पनी र पर्यटन व्यवसायीहरुले समेत विरोध गरे ।
निकुञ्जले सूचना जारी गरेर लुक्ला तथा स्याँगबोचेस्थित विमानस्थल र नाम्चेस्थित हेलिप्याड गरी जम्मा तोकिएको तीन स्थानमा पूर्व स्वीकृतिमा हेलिकप्टर अवतरण गर्न सम्बन्धित कम्पनीहरूलाई निर्देशन जारी गरेको थियो ।
निकुञ्जका केहि अधिकारी र कर्मचारीले पहिलादेखि नै कालापत्थरमा हेलिकप्टर ल्याण्ड हुँदा चर्काे शुल्क लिने तर रसिदसमेत नदिने गरेको अहिले आएर हेलिकप्टर व्यवसायीले बताउन थालेका छन् ।
व्यवसायीका अनुसारमा निकुञ्जका कर्मचारीहरुले हेलिकप्टर कम्पनीसँग पैसा लिने र त्यसको बिल माग्न थालेपछि रुष्ट भएकै कारण बहाना बनाएर कालापत्थरमा अवतरणमा रोक लगाएको बताएका छन् ।
निकुञ्ज भित्रका कर्मचारीहरु र हेलिकप्टर कम्पनीका स्थानीय कर्मचारीहरुको मिलेमतोमा त्यस क्षेत्रमा अवतरण गर्दा बिल कम बनाउने गरेको आरोप अहिले कम्पनीहरुले लगाउन थालेका छन् । रजिष्टरमा कम देखाउने तर बिल धेरैको पठाएर पैसा असुल्ने गरेको आरोप निकुञ्जका कर्मचारीमाथि छ ।
हेलिकप्टर कम्पनीहरुले ल्याण्डिङ गरेबापत बुझाएको रकमको बिल माग्न थालेपछि कर्मचारीहरुले थोरैको बिल दिने र रकम भने धेरै लिने गरेको कम्पनीहरुले आरोप लगाएका छन् ।
‘यसमा हेलिकप्टरका स्थानिय कर्मचारीहरुको समेत मिलेमतो छ, हाम्रा कर्मचारीहरु विना यो सम्भव छैन,’ एक हेलिकप्टर कम्पनीका सञ्चालकले क्यापिटल नेपाललाई भने । अडिटरले पनि १० देखि १२ लाख रुपैयाँसम्मको रकम देखेर बिल माग्न थालेपछि कम्पनी चनाखो बनेको हो ।
पछि कम्पनीले निकुञ्जसँग ल्याण्डिङ बापत आफुले तिरेको रसिद र खाता नम्बर माग्न थालेपछि कर्मचारी कम्पनीसँग रुष्ट बनेका थिए । सिधै खातामा पैसा हाल्ने भनेपछि कर्मचारीले नपाउने भएका कारण कम्पनीप्रति उनीहरुको व्यवहार परिवर्तन भएको अर्काे एक कम्पनीका पाइलटले बताए । ‘कहिले गल्ती गर्ला र ठिक पारौला भनेर बसेका निकुञ्जका कर्मचारीहरुलाई सिम्रिकले अनुमति नै नलिएको पाएपछि यस्तो प्रतिबन्ध लगाएको हो,’ उनले भने ।
अहिले सिम्रिकले भने अदालतबाट अन्तरिम आदेश लिएर त्यस क्षेत्रमा उडान गरिरहेको छ । तर, निकुञ्जले कारवाही गर्न सकेको छैन । तर, अरु हेलिकप्टर कम्पनीले भने उडान अनुमति नै पाइरहेका छैनन् ।निकुञ्ज भित्र हेलिकप्टर अवतरण गर्दा प्रति उडान ३ हजार रुपैयाँ तिर्दै आएका छन् । तर, व्यवसायीहरुले भने दिनको ३ हजार रुपैयाँ हुनुपर्ने माग राख्दै आएका छन् ।
‘जति पटक अवतरण गरे पनि हेलिकप्टर कम्पनीले ३ हजार रुपैयाँ तिर्नुपर्ने हो । तर, निकुञ्जले भने प्रति अवतरण ३ हजार रुपैयाँ लिँदै आएको छ,’ एक सञ्चालकले क्यापिटलसँग भने । त्यति मात्र हैन,निकुञ्जका कर्मचारीहरुले एउटा हेलिकप्टरले ६ वटा उडान गरेमा १ वटा छुट दिने २ वटाको निकुञ्जलाई पैसा दिने र बाँकीको पैसा आफै राख्दै आएको समेत आरोप लगाएका छन् ।
किन रोक लगाइयो ?
व्यवसायीहरुले भने गल्ति एउटा कम्पनीले गरेको र अरुलाई कारवाहीको भागिदार किन बनाएको ? भन्दै प्रश्न उठाउँदै आएका छन् । यस विषयमा शुक्रबार सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारीको अगुवाईमा सल्लेरीमा हेलिकप्टर कम्पनीका प्रतिनिधीहरु र निकुञ्जबीच छलफल समेत हुने भएको छ ।
यसअघि हेलिकप्टर कम्पनीका सञ्चालकहरुले उद्योगमन्त्री लेखराज भट्टसँग भेट गरी प्रतिबन्ध फुकुवाको लागि सहजिकरण गर्न समेत अनुरोध गरेका थिए ।
पर्यटकीय सिजन सुरु भएसँगै धेरैको रोजाई कालापत्थरमा जाने हुन्छ । तर, निकुञ्जले अनुमति नदिँदा व्यवसायीहरु समस्यामा पर्दै आएको बताउँछन् । एकातिर कोभिडले लामो समयसम्म उडान नहुँदा समस्या भोगेका व्यवसायीहरु अहिले निकुञ्जले लगाएको प्रतिबन्ध प्रति झनै रुष्ट बनेका छन् ।
निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले भने ऐन नियमअनुसार आफुहरुले प्रतिबन्ध लगाएको बताए । ‘यसमा हाम्रो कुनै कम्पनी प्रति पुर्वग्राह छैन, प्रमुख उपाध्यायले भने, कुनै कर्मचारीहरुले कम्पनीबाट पैसा लिएको प्रमाण पाए तत्कालै कार्वाही गर्ने छु’, उनले भने ।