काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म ८.५४ प्रतिशत नाफा बढाएको छ । आव २०७७०७८ को सो अवधिमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कोषले जनाएको छ ।
कोषले चालु आवको छ महिनाको अवधिमा १ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात १ खर्ब ६४ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
सो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्ब १ अर्ब ६६ करोड, सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड, सङ्गठित संस्थाको सेयर धितोत्रपमा १२ अर्ब ८३ करोड, सहभागी सापटी तथा आवास कर्जामा २७ अर्ब ९३ करोड र समयकालीन कर्जामा १९ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको छ ।
कोषको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ रहेको छ । कोषमा सरकारको १०, नेपाल राष्ट्र बैंकको १३.३४, नेपाल स्टक एक्सचेन्जको १०, राष्ट्रिय बिमा संस्थानको ३१.५५, बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कोषले कर्मचारी बचत वृद्धि अवकास कोष योजना, आवास कर्जा, लगानीकर्ता हिसाब योजना, उपदान योजना, नागरिक एकाङ्क योजना, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।
कोष स्थापनाको ३१ औँ स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउने गरी काम गर्न निर्देशन दिए ।
पूर्वाधार विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई विस्तार गरेर आर्थिक पुनःउत्थान गर्नुपर्नेमा जोड दिँदै उहाँले कोषले सञ्चालनमा ल्याएका योजनालाई थप प्रभावकारी बनाउन सुझाव दिए।
कोषका कार्यकारी निर्देशक रमण नेपालले बचत सङ्कलनका लागि सञ्चालनमा ल्याइएका कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना तथा नागरिक एकाङ्क योजनाबाट सङ्कलित रकमलाई उच्च प्रतिफल प्राप्त हुने गरी जोखिम विश्लेषणका आधारमा लगानी गर्दै आएको बताए ।