काठमाडौं । ई–सेवाले पोखरा उद्योग वाणिज्य संघसँग विद्युतीय भुक्तानीका लागि सहकार्य गरेको छ । ई–सेवाले पोखरालाई डिजिटल बजार बनाउने उद्देश्यले संघसँग सहकार्य गरेको हो । सहकार्यका लागि ई–सेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढी व्यवसाय तथा फर्म आबद्ध छन् । ती सबैले विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने ई–सेवाले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले अनलाइन पेमेन्टमार्फत भ्रष्टाचार कम हुने बताए । यस्तै, अध्यक्ष कोइरालाले पैसा बोक्ने सिस्टम कम भएर क्युआर कोडकोे लोकप्रियता बढ्दै गएको समयमा ई–सेवासँग सकहार्य गर्दा खुसी लागेको बताए ।
ई–सेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सही र उच्चतम प्रयोग गर्न संघ र सदस्यहरुको सामिप्यताका तथा डिजिटल भुक्तानी, प्रविधिमैत्री सहर र व्यवसायका लागि संघसँग सहकार्य गरेको बताए ।
हाल ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी, अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् ।
ई–सेवाबाट इन्स्योरेन्सकाे प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल तिर्न सकिन्छ । त्यस्तै, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल र कलेजलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।