काठमाडौं । जुम्ला, कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् ।
शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालीकोट र मुगुका २ हजार १ सय २० स्याउ किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको हो । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, “मौसम सूचकाङ्कका आधारमा बिमा गरेका स्याउ किसानलाई क्षतिपूर्तिबापत रकम भुक्तानी गरेका छौं ।” जुम्लाको पातारासी गाउँपालिका–६ का स्याउ किसान अदिराज विष्टलाई क्षतिपूर्तिबापत १ लाख ८९ हजार रुपैयाँ भुक्तानी दिएको उनले बताए ।
पछिल्लो समयमा जिल्लामा स्याउ खेतीमा किसानको आकर्षण बढेसँगै बिमा गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको कम्पनीको शाखा कार्यालय जुम्लाका प्रमुख दीपदर्शन फडेराले जानकारी दिए । गत वर्ष असिनाका कारण स्याउ नष्ट भएपछि स्याउको बिमा गरेका किसानले क्षतिपूर्ति पाएको उनको भनाइ छ । स्थानीय तहका कृषि शाखाको सिफारिसमा स्याउको बिमा गरेका किसानलाई कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । असिना र खडेरीका कारण स्याउ नष्ट भएको बताए ।
यसैगरी छिमेकी जिल्ला कालीकोट र मुगुका १ हजार ३ सय ८२ किसानले स्याउ बिमा गरेबापत २ करोड ५५ लाख रुपैयाँ क्षतिपूर्ति पाएको कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख फडेराको भनाइ छ । कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतका अनुसार बिमा गराएको कारण स्याउ खेतीबाट क्षति बेहोर्नु परेका किसानले राहत पाएका हुन् ।
उनले भने, “कार्यालयले सबै स्थानीय तहका कृषि शाखामार्फत त्यहाँका किसानलाई बीमा गर्ने सम्बन्धी शिक्षा दिएपछि यसप्रति उनीहरुको आकर्षण बढ्दो छ ।” शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बिमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् ।
स्याउ बिमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेतीको बिमा गर्न किसान लागिपरेका हुन् । बिमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बिमा गर्न किसान आकर्षित भइरहेको शाखा प्रमुख पनण्डेको बताउँछन् ।
जिल्लालाई स्याउ पर्यटन क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारले यहाँका स्याउ किसानलाई राहत हुने गरी काम गर्न आवाश्यक रहेको तिला गाउँपालिका–१ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताए । जिल्लाका झण्डै २१ हजार घरधुरीमध्ये करीब १६ हजारभन्दा बढी प्रत्यक्षरुपमा स्याउ खेतीमा लागेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
फुजी स्याउ
पछिल्लो समय स्याउ किसान विदेशी फुजी स्याउको उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ला एग्रो फार्म र हाम्रो सहकारी प्रालिले ४ वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा लिजमा लिएर स्याउखेती सुरु गरेको एग्रो फार्मका सञ्चालक रेश्मा श्रेष्ठले बताइन् ।
सुरुवातमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी ५ प्रकारका स्याउ लगाइएको सञ्चालक श्रेष्ठको भनाइ छ । जिल्लामा ४–५ वर्षदेखि इटालियन फुजी जातको स्याउखेती हुन थालेको छ । कम लागतमा बढी उत्पादन दिने भएकाले फुजी स्याउखेतीतर्फ किसान आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपर जोन कार्यालय जुम्लाका कार्यालय प्रमुख नवराज भण्डारीले बताए ।