एजेन्सी । विश्वका ठूला गाडी उत्पादक कम्पनीहरुले धमाधम विद्युतीय गाडीमा लगानी बढाउन थालेका छन् । अमेरिकाको जनरल मोटर्स, फोर्ड मोटर्स र जर्मनीको फक्सवागन मोटर्सलगायत ठूला कम्पनीहरुले विद्युतीय गाडी उत्पादन सुरु गर्न लागेका हुन् ।
यी कम्पनीहरुले गाडी उत्पादनको प्लाण्ट विस्तारमा आगामी ५ वर्षमा ७७ अर्ब अमेरिकी डलर संयुक्त रुपमा लगानी गर्ने भएका छन् । यो पछिल्लो समयमा अटो उद्योगमा हुन लागेको ठूलो लगानी हो ।
कम्पनीहरुले पिकअप, ट्रकलगायत साना विद्युतीय गाडी उत्पादन गर्न सो रकम लगानी गर्न लागेका हुन् ।यद्यपी उत्पादकहरुलाई गाडी बिक्री कम हुने हो कि भन्ने चिन्ता रहेको बताइएको छ ।
अमेरिकाको जनरल मोटर्सले आगामी सन् २०३५ सम्म खनिज इन्धनबाट सञ्चालन हुने सबै प्रकारको गाडीलाई विस्थापन गरी विद्युतीय उत्पादनमा जोड दिने घोषणा गरिसकेको छ ।
यसैगरी जनरलले सन् २०४० मा कार्वन उत्सर्जन घटाउनमा सहयोग पुर्याउने लक्ष्य लिएको बताइएको छ । यस्तै फोर्ड र भग्सवागनले पनि विस्तारै पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गरेर विद्युतीयमा लैजाने योजना अघि सारेका छन् ।
विश्व बजारमा अमेरिका, युरोप र चीनले विद्युतीय सवारीसाधन उत्पादन बढाउँदै लगेका छन् । विद्युतीय गाडीको माग पनि बढेको बताइएको छ ।
विद्युतीय गाडीको माग बढेपछि युरोपमा गत वर्ष सन् २०२० मा मात्रै ७३ हजार युनिट ब्याट्री बिक्री भएका थिए । सन् २०२१ को पहिलो ३ महिनामा ३ लाख युनिट ब्याट्री बिक्री भइसकेका छन् ।
यसले गर्दा ब्याट्रीको बिक्री ३ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ । चीन र कोरियाले पनि विद्युतीय गाडी उत्पादनमा जोड दिन थालेका छन् । हुण्डाइ कम्पनीले विद्युतीय गाडी उत्पादन थालिसकेको छ ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)