काठमाडौं । आइडिया स्टुडियोले सुरु गरेको पाचौं सिजनको लाइभ अडिसनको दोस्रो दिन प्रविधि(टेक्नोलोजी) र हेल्थ केयरको विषयमा आफ्नो आइडियाहरू प्रस्तुत गरेका छन् ।
‘सोचदेखि उद्योगसम्म’को नारासहित सञ्चालित आइडिया स्टुडियोले व्यवसायमा नविनतम सोच भएकाहरूलाई लक्षित गरी पाँचौं सिजन सुरु गरेको हो ।
पाँचौं सिजनको दोस्रो दिनमा देशभरका २५ जनाले प्रविधि र स्वास्थ्य(हेल्थकेयर)को विषयमा कसरी बिजनेससँग जोड्न सकिन्छ भनेर आइडियाहरू प्रस्तुत गरेका थिए ।
सोमबार प्रस्तुत गरिएको आइडियाहरूमध्ये १७ वर्षका प्रमित भट्टराईले सुनाएको ‘लर्न एट’ ,१७ वर्षका आश्रय अधिकारीले सुनाको ‘आफ्नै कलेज’ नामक विषयले मूल्यांकनकर्ताहरूको ध्यान खिचेको थियो । यस्तै ‘स्मार्ट आमा र न्यानो नानी’ले पनि सबैको ध्यान तानेको देखिन्थ्यो ।
आइडिया स्टुडियोले देशभरबाट विभिन्न आइडियाहरू माग गरेको थियो । ५ सयभन्दा बढी परेको आवेदनबाट छनौट गरी १ सय वटामा झारेको हो । लाइभ अडिसनबाट ३० देखि ३५ वटा आइडियाहरू छनौट हुनेछ ।
ग्रिनोभेसन, सोसल इम्प्याक्ट, मेड इन नेपाल र हाई फ्लाइङ गरी चारवटा विधामा नयाँ आइडियालाई प्रतिस्पर्धा गराउनेछ । चारवटा विधामा आइडियटरलाई आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर दिइनेछ ।
स्टुडियोले सम्बन्धित क्षेत्रका विज्ञहरूबाट सहभागीलाई व्यावसायिक तालिम पनि दिनेछ ।
तालिमपछि चारवटा विधामा उत्कृष्ट आइडिया प्रस्तुत गर्ने चार प्रतिस्पर्धीलाई ५ लाख बराबरको लगानी पाउन योग्य हुनेछन् ।
प्रतिस्पर्धीहरूले व्यावसायिक सहयोगसँगै विभिन्न उद्योग र व्यवसायहरूमा समेत स्थलगत अध्ययन गराउनेछ ।
छनौट भएका आइडियाहरूलाई एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ ।