काठमाडौं । भारत लैजान भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन महिनादेखि ‘ट्रान्जिट पार्किङ’मा राखेको दुईवटा पुराना हेलिकप्टर तत्कालै नलगे लिलामी हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले विमानस्थलमा राखिएको दुईवटा हेलिकप्टर तत्कालै फिर्ता नलगे लिलाम गर्ने चेतावनी सहितको पत्र सम्बन्धित निकायलाई दिएको हो ।
‘ट्रान्जिट पार्किङ’का लागि भन्दै ल्याइएको दुईवटा हेलिकप्टर अहिलेसम्म फिर्ता नलगेपछि प्राधिकरणले लिलामीको चेतावनी दिएको हो ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले किर्गिस्थानको उड्डयन प्राधिकरणको पत्रअनुसार ‘ट्रान्जिट पार्किङ’को अनुमति दिइएको बताउँदै फिर्ता कहिले लैजाने भनेर पत्राचार गरिरहेको बताए ।
पहिलो पटक पठाएको पत्राचारको कुनै जवाफ नआएपछि प्राधिकरणले केह दिनअघि मात्र दोस्रो पत्राचार गरेको थियो । प्राधिकरणले पठाएको पत्रमा हेलिकप्टर लैजान ढिला हुनुको कारणसहित तत्कालै लैजान अनुरोध गरिएको बताइएको छ ।
यदि हेलिकप्टर लैजान ढिलाइ गरेमा प्राधिकरणले स्क्राप (कवाडी) मा लिलाम गर्ने सहितको तयारी गरेको छ । नेपालमा १५ वर्षभन्दा पुरानो हेलिकप्टर उडानमा प्रतिबन्द गरिएको छ । हाल किर्गिस्थानबाट आएको हेलिकप्टर ३० वर्षे पुरानो हो ।
सुरुमा एक दिनका लागि भनेर अनुमति लिएको सो हेलिकप्टरले पछि विभिन्न बाहना बनाउँदै समय थप्दै आएको छ । रुसमा बनेको इएक्स –४०००७ र इएक्स –०८०२३ आइडेन्टिटी नम्बर रहेका यी दुवै हेलिकोप्टर एमआइ–८ एमटिभी सिरिजका छन् ।
यी दुई हेलिकोप्टरको उत्पादन सन् १९९१–०३–०३ र सन् १९९१–०४–११ भएको देखिन्छ ।
नेपाली व्यवसायीहरूकै मिलेमतोमा सो हेलिकप्टर ल्याइएको आशंका गरिएको छ । अन्नपूर्ण हेलिकप्टर प्रालि दर्ता गरेको भुवन प्रधानको समूहले नै सो हेलिकप्टर यहाँ सञ्चालन गर्न खोजिरहेका छन् ।
स्रोतका अनुसार सरकारलाई प्रभावित बनाएर १५ वर्ष पुरानो हेलिकप्टर उडान गर्न नपाउने प्रावधानलाई नै परिवर्तन गर्न खोजिरहेका छन् ।
तर, सरकारले पुरानो हेलिकप्टर सञ्चालन गर्न दिने छाँट नदेखेपछि प्रधान समूहको ध्यान नयाँ सरकारतर्फ मोडिएको देखिन्छ ।
प्रधान समूहले भारतमा सञ्चालन गर्न लैजाने बताएको छ । तर, भारतमा ३० वर्ष पुरानो हेलिकप्टर पनि सञ्चालन गर्न पाइँदैन ।
प्रधानसँगै पूर्वकर्णेल रवीन्द्र बस्नेतको समेत संलग्नता रहेको स्रोतले बतायो ।
उनीहरू दुवै जना नेपाली सेनाले सञ्चालन गरेको एमआई १७ हेलिकप्टरका क्याप्टेन हुन । उनीहरूसँग यो हेलिकप्टर सञ्चालनको अनुभव भएकोले पनि नेपालमा ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।