काठमाडौं । समय फेरिँदै छ । परिस्थिति पनि बेला–बेलामा परिवर्तन हुँदै जान्छ । त्यही परिस्थितिलाई कसरी सामना गर्न सकिन्छ भन्ने मानिसहलाई ठूलो चुनौतीको विषय बनिरहेको छ ।
अहिले विश्वजगत डिजिटलमा परिवर्तन भइरहेको छ । एकै क्लिकमा सम्पूर्ण सेवा सुविधाहरू घरघरमै आइपुग्नेदेखि बैंकिङ कारोबार र स्वास्थ्य सेवासमेत डिजिटलमार्फत नै पाउने अवस्था सिर्जना भइरहेको छ ।
नेपालले पनि डिजिटल प्लाटफर्मलाई विस्तारै पछ्याउँदै गएको देखिन्छ । विशेष गरेर कोरोना भाइरसको महामारी सुरु भएपछि नेपालमा पनि डिजिटलको प्रयोग अत्याधिक भएको देखिन्छ ।
अनलाइनमार्फत सेवा लिने काम कोरोना अघि नभएको भने होइन । तर, मानिसहरूको चलनचल्तीमा त्यति आइसकेको थिएन । कोरोनाका बीचमा भने धेरै विषयहरू अनलाइनमार्फत नै भएको पाइन्छ ।
त्यही बीचमा विगत ७ वर्ष अघिबाट सुरु भएको कुल्याब्स डटकम पनि चर्चाको शिखरमा मात्र पुगेन सबैको लोकप्रियसमेत बनेको छ । लामो समयसम्म विद्यालयहरू बन्द भएको र किताब पल्टाएर पढ्न सक्ने अवस्था नरहनेका लागि कुल्याब्स डटकम निकै सहज भएको पाइन्छ । एकै क्लिकमा कक्षा ६ देखि १२ सम्मका सबै पाठ्यपुस्तक पाउने भएकाले पनि सबैको लोकप्रिय बनेको हो ।
बुकलाई ई–बुकमा लैजाने व्यक्ति को हुन त भन्ने जिज्ञासा धेरैमा रहन सक्छ । उनी हुन, काठमाडौंका अधिप पौडेल इन्जिनियरिङका विद्यार्थी पौडेल सहितको समूहले ७ वर्ष अघिबाट कुल्याब्स डटकम सञ्चालनमा ल्याएका हुन् ।
७ जना साथी मिलेर कुल्याब्स सञ्चालनमा ल्याए पनि अहिले सबैले छोडेर पौडेलले मात्र सञ्चालन गर्दै आएका छन् । विभिन्न बाधा, अवरोधलाई पार गर्दै अहिले सफलताको शिखरमा पुगिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण व्यापक भएको बेला पौडेलले आइडिया स्टुडियोसँग समेत सहकार्य गरेका थिए । हुन त, उनी आइडिया स्टुडियोको सिजन–३ का विजेतासमेत हुन् ।
उनले सुरुवाती चरणमा कक्षा १० को विज्ञान विषयलाई कुल्याब्स डटकममा समावेश गरेका थिए । त्यति बेला विज्ञान विषय नै छनोट गर्नुको कारण प्राक्टिकल गर्नमा विद्यार्थीहरूलाई सहज होस् भन्ने थियो । यसमा एउटै तर्क के छ भने विज्ञानको प्राक्टिकल छुटाएका विद्यार्थीले अध्ययनले मात्र त्यसलाई बुझ्न सक्दैनन् । तर, कुल्याब्स डटकमले विद्यार्थीहरूले यस साइटलाई आधार बनाएर बुझ्न निकै सहज हुने दाबी गरेको छ ।
विद्यार्थी र अभिभावकको माग बढ्दै गएपछि उनले विस्तारै पाठ्यक्रमहरू थप्दै लगेका हुन् । पछिल्लो समय उक्त साइटको विश्वसनीयता बढ्दो छ । सो साइटको प्रयोगमार्फत विद्यार्थीहरूले आफूलाई चाहिने विषय वस्तु इन्टरनेटको माध्यमबाट निःशुल्क पढ्न मिल्छ ।विश्वका जुनसुकै स्थानमा रहेका विद्यार्थीहरूलाई अध्ययनमा सहजता मिलोस् भन्ने उद्देश्यले सो साइट सञ्चालन गरिएको हो ।
कुल्याब्स डटकमले स्नातक तहका विद्यार्थीलाई समेत आबद्ध गराउने योजना बनाएको छ । विद्यालयका शिक्षक लक्षित डिजिटल कार्यक्रम तथा विद्युतीय कक्षाहरू सञ्चालन गर्दै आएको उनले बताए ।
‘हामीले विद्युतीय कक्षा सञ्चालनका लागि चाहिने सफ्टवेरहरू प्रदान गर्छौं, पुस्तक नभएकाले हामीलाई अध्ययन गर्न गाह्रो भएको थियो, अब अरु विद्यार्थीलाई कुल्याब्स डटकमले सहयोग पुगोस भन्ने हाम्रो उद्देश्य छ,’ पौडेलले भने ।
इन्जिनियरिङका पुस्तकहरू अन्य विषयको जस्तो प्रसस्त पाइँदैन । सोही कारण त्यस्ता पुस्तकलाई प्रविधि मैत्री बनाउन सकेमा धेरै विद्यार्थी लाभान्वित हुने सोच आफूले राखेको पौडेलको भनाइ छ । इन्जिनियरिङ पढ्दा पाठ्यक्रमसँग सम्बन्धित सामग्रीहरू पनि सहजै भेटिँदैन ।
भेटिएका पाठ्यक्रमहरू नेपालभन्दा बाहिर देशका विद्यार्थीलाई सुहाउने किसिमका हुने विद्यार्थीहरूको अनुभव छ । इन्टरनेटमा नै पाठ्य सामग्री राख्न सकेमा धेरै विद्यार्थीहरूको पहँुचमा शिक्षा पुग्छ भन्ने सोचाइ आएको उनले बताएका छन् ।