एजेन्सी । कोपाङ्ग इंकबाट एकाएक चर्चामा आएका कोरियाका ४२ वर्षीय बम किम विश्वकै अर्बपतिहरूको सूची (बिलियन्र्स क्लब) मा परेका छन् । किमले हावर्ड विश्वविद्यालयमा अध्ययन गर्दा छापाखाना चलाएका थिए । उनले उद्योग व्यवसायमा नै आफ्नो भविष्य देखेको कारण आफ्नो पढाइ छाडे भने छापाखाना पनि बेचे । तर, व्यावसायिक यात्रा छाडेनन् ।
छापाखाना बेचेपछि उनी अमेरिकाबाट कोरियामा फर्के र ई–कमर्स व्यवसाय कोपाङ्ग इंकको यात्रामा लागे । सन् २०१० मा कोपाङ्गको औपचारिक सुरुवात भएको थियो । त्यही सुरुवात अहिले ऐतिहासिक बन्दै गएको छ । यसको मतलब उनले हासिल गर्दै आएको सफलता दिन दुईगुना रात चौगुना भएर बढ्दैछ ।
नेपाली समाजमा अहिले पनि स्कुल तथा विश्वविद्यालयको शिक्षाबाट बाहिरिनुलाई त्यति राम्रो दृष्टिले हेरिँदैन । चाहे विद्यार्थी असक्षम भएर हुन् वा केही समस्यामा परेर पढाइबाट बाहिरिएका हुन् । कारण जेसुकै भए पनि अहिलेसम्म कागजको प्रमाणपत्रलाई नै सफलता मापनको आधार मान्ने परिपाटी कायमै छ ।
तर, यस्तै परिवेशमा केही अपवादहरू पनि भेटिने गर्छन् । विश्वमा केही यस्ता चर्चित व्यक्तिहरू पनि छन् जसले आफ्नो पढाइ छाडेर पनि सफलताको शिखर चुमेका छन् । हो, त्यस्तै व्यक्तिको सूचीमा परेका हुन् कोरियाका ‘बम किम’ ।
उनले सन् २०१० मा सुरुवात गरेको कोपाङ्ग इंकले सन २०१४ मा कोरियाको ‘पहिलो युनिकर्न’ कम्पनी बन्न सफल भएको छ । ई—कमर्ससँग सम्बन्धित ठूलो संख्याको सेयर सफ्ट ग्रुपमार्फत हिजो बिहीबारदेखि ट्रेडिङ हुन थालेको छ । कम्पनीलाई सफ्ट बैंक ग्रुप कर्पोरेसनले सहयोग गरिरहेको छ । कोपाङ्गमा सफ्ट बैंक ग्रुप कर्पोरेशनको ठूलो लगानी रहेको छ ।
कोपाङ्ग कोरियाको सबैभन्दा ठूलो सूचीकृत कम्पनी हो । कम्पनी न्युयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत छ । जसमा अलिबाबा ग्रुप होल्डिङ्ग लिमिटेड पनि आबद्ध छ । अलिबाबाले महामारीको समयमा घटेका नाफालाई अनलाइन सपिङमार्फत आर्जन गरेको थियो ।
कोपाङ्गले सुरुवाती चरणदेखि नै एउटा नारा बनाउने लक्ष्य राखेको थियो । सो लक्ष्य अनुसारको नारा ग्राहकहरूले ‘म कोपाङ्ग बिना कसरी बाँच्छु’, भन्ने बनाउने हो ।सन् २०१९ मा मेल्किन इन्टिच्युटद्वारा आयोजित छलफलमा किमले भनेका थिए , ‘कोपाङ्गमा लगानी गर्दा यसले दीर्घकालसम्म प्रतिफल दिन्छ ।’
कम्पनीले आफ्नो सेयर मूल्य बजारमा कायम रहेकोभन्दा बढी राखेको छ । ४.६ अर्ब डलरबाट कम्पनी उचालिएर ६० अर्ब डलरसम्म पुग्न सफल भयो । साथै, कम्पनीको सेयर कारोबार ६९ डलरसम्म कायम भएको छ । त्यसको मतलब बिहीबार न्युयोर्कमा देखिएको यो वृद्धि ४९.२५ डलरमा झर्नु पूर्वअफर मूल्यभन्दा पनि ४१ प्रतिशतले बढेको हो । कम्पनीको सेयर मूल्य किमको सम्पत्ति बढेर ८ अर्ब ६० करोड डलर स्वामित्व पुगेको छ ।
सन् २०१५ मा १ अर्ब डलर कोपाङ्गमा लगानी गरेको भेटिन्छ । साथै, त्यसको भिजन फण्डको रूपमा २ अर्ब डलर २ वर्षपछि लगानी थप गरिएको थियो ।सो अवधिमा आईपीओका लागि सीमित संख्याका लगानीकर्ताहरूका लागि भन्दै हस्तक्षेप गरिएको थियो ।
किमले अमेरिकाको मध्यम आय भएका विद्यार्थीले पढ्ने विद्यालयमा भर्ना भएका थिए । बिस्तारै उनको यात्रा अमेरिकामा नाम चलेका राष्ट्रिय विद्यालयसँग पनि भयो । हार्डवार्ड विश्वविद्यालयमा अध्ययन गरिरहेका उनले करेन्ट म्यागजिन नामको छापाखानाको सुरुवात गरे । त्यतिबेला लेखकहरूसँग उनले सल्लाह लिएका थिए ।
उनले प्रकाशनले सन् २००१ बाट सफलता पाउन थाल्यो । सोही अवस्थामा उनले अन्य व्यवसाय पनि सुरु गर्ने सोच बनाए । सोही सोचअनुसार उनले आफ्नो व्यवसाय सन् २००९ मा बेचे ।
हार्डवार्डमा एमबीए गरिरहेका उनले आफ्नो औपचारिक अध्ययन पनि छाडे र बिस्तारै सफल बन्दै गए । कोपाङ्ग कोरियामा रकेट डेलिभरिका रूपमा पनि चिनिन्छ ।
कोरोना महामारीले कोपाङ्गको व्यवसाय वृद्धिमा सघाउ पुर्याएको छ । सन् २०२० मा मात्रै कोपाङ्गको व्यवसाय १२ अर्ब डलरले वृद्धि भएको छ ।
सिओलमा रहेको एनएच इन्भेस्टमेन्ट सेक्युरिटीज कम्पनीका विश्लेषक लि जियोङ्गले भने, ‘कोपाङ्गको वृद्धिलाई सामान्य वृद्धिको रूपमा हेर्न मिल्दैन ।’ कोपाङ्गले आफ्नो सफलताको साथसाथै विभिन्न छानबिनको समेत समाना गर्नु परेको छ ।
‘हामीले कामदारलाई साप्ताहिक बिदा प्रदान गरिरहेका छौं, कामदारहरूले अन्य भ्याकेसन पनि पाएका छन् त्यस्तै कामदारहरूको बिमा समेत गरिएको छ’, बुलुम्बर्गलाई बिहीबार दिएको अन्तरवार्तामा किमले भने ।कोपाङ्गको व्यवसाय अहिले मल्टिपल रुपमा अघि बढिरहेको छ । ग्राहकहरूले डेलिभरिको सुविधासमेत पाइरहेका छन् ।
किमले भने, ‘ग्राहकको हितमा हामीले काम गर्नुपर्छ, हाम्रो हितमा काम गरेर हुँदैन, आफूले कसरी ग्राहकलाई सन्तुष्ट राख्ने भनेर काम गर्नुपर्छ त्यसपछि ग्राहकले हामीलाई छाड्न सक्दैनन् ।’
(ब्लुमबर्गको सहयोगमा)