काठमाडौं । कोरोना भाइरसले विश्वमै सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पुर्यायो । कोरोना महामारीकै रूपमा फैलिन थालेपछि सरकारले सबैभन्दा पहिला विमानस्थल बन्द गर्यो । विमानस्थल बन्द हुने बित्तिकै हवाई मार्गबाट हुने आवात–जावात पूर्णरूपमा ठप्प बन्यो । त्यसबाट हवाई जहाजहरू आर्थिक संकटतर्फ उन्मुख बने भने त्यसको सिधा असर होटल व्यवसायमा पर्यो ।
एकपछि अर्को देशले कोरोना नियन्त्रण गर्न सबैभन्दा पहिला विमानस्थल नै बन्द गरे । नेपालले पनि सुरुमा एयरपोर्ट र सीमा नाका बन्द गर्यो । आवात–जावात पूर्णरूपमा रोकिएपछि त्यसको सीधा असर होटल व्यवसायमाथि पर्यो ।
कोरोनाले संसारको पर्यटन क्षेत्र तहस नहस बनायो र त्यसको असर नेपालका होटलमाथि पनि पर्यो । अहिले पनि अन्य व्यवसायले पुरानै गति समाइसक्दा होटल व्यवसायीले भने अहिलेसम्म पनि बैंकको ब्याज तिर्न सकेका छैनन् । कर्मचारीले पूरा तलब सुविधा पाउन सकेका छैनन् । अहिले पनि अकुपेन्सी १० देखि १५ प्रतिशत पनि छैन ।
यस्तो बेलामा पनि प्रतिष्ठित व्यावसायिक घराना एमएस ग्रुपले काठमाडौंमै अर्को तारे होटल निर्माणको थालनी गरेको छ । एमएस ग्रुपले काठमाडौंको कमलादीमा म्यारियटअन्तर्गतकै मोक्सी होटलको निर्माण सुरु गर्न लागेको हो ।
एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले कमलादीमा २ रोपनी क्षेत्रफलमा नयाँ होटल निर्माण गर्न लागेको बताए । उनले चार वर्षअघि ठमेलमा फेयरफिल्ड म्यारियट, दुई वर्षअघि काठमाडौं म्यारियट होटल सञ्चालनमा ल्याइसकेका छन् । अहिले म्यारियट अन्तर्गतको मोक्सी होटल बनाउन लागेका हुन् ।
कोरोनाका कारण देशकै सबैभन्दा पुरानो होटल अन्नपूर्ण बन्द भइसकेको छ । अन्य होटलको अवस्था पनि दयनीय छ । म्यारियटकै अवस्था राम्रो छैन । यस्तो अवस्थामा पनि अग्रवालले २ अर्ब रुपैयाँ लगानीमा नयाँ होटल बनाउन लागेका छन् ।
युवापुस्तालाई बढी फोकस गरेर कमलादीमा नयाँ होटल बनाउन लागिएको अग्रवालले जानकारी दिए । ‘मोक्सी होटल भन्ने बित्तिकै युवा पुस्तामा लोकप्रिय छ । यो होटल अन्य होटलभन्दा विल्कुलै फरह हुन्छ,’ अग्रवालले क्यापिटल नेपालसँग भने, ‘यसमा रिसेप्सन हुँदैन । होटलभित्र पस्ने बित्तिकै बार देखिन्छ । बारमै रजिष्टर गर्ने, त्यही रमाइलो गरेर रुममा गएर सुत्ने गरी संरचना बनाइएको हुन्छ ।’
होटल निर्माणको थालनी एक हप्तापछिबाट सुरु हुन्छ । प्रारम्भिक वातावरणीय मूल्यांकन (आईई) तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), होटलको नक्सा पासलगायतका सम्पूर्ण पूरा गरिसकिएको छ । कमलादीमा बन्न लागेको मोक्सी होटलमा १०१ रुम तथा स्वीमिङ पुल हुनेछ । होटल पाँच तारेस्तरकै भए पनि तीन तारेको मान्यता लिने उनको भनाइ छ ।
उनका अनुसार होटलको निर्माण कार्य साढे दुई वर्षभित्र सकिनेछ । काठमाडौं म्यारियट पनि तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको थियो । त्यसैगरी, ठमेलस्थित फेयरफिल्ड म्यारियट पनि समय अगावै सम्पन्न गरेर सञ्चालनमा ल्याइएको हो । अब बन्ने होटल पनि तोकिएको समयभन्दा छिटो सम्पन्न हुने अग्रवालको भनाइ छ ।
कोरोना महामारी २ वर्षभित्र अन्त्य भइसक्छ । अहिले संसारभरका व्यक्तिलाई भ्याक्सिन लगाउने कार्य भइरहेको छ । नेपालमा पनि तीव्र रूपमा भ्याक्सिन लगाउने कार्य चलिरहेको छ । कोरोनाको अन्त्य भए पछि पर्यटन क्षेत्रको व्यवसाय फस्टाउने आशा अनुरूप नयाँ होटलको थालनी गर्न लागेको उनको भनाइ छ ।
‘यस्तो अवस्था सधैंभरि रहँदैन । कोरोना महामारी विश्वभरबाट हट्ने बित्तिकै हाल काठमाडौंमा भएका होटलले पर्यटकलाई थेग्न सक्दैन,’ उनले भने, ‘त्यही भएर नयाँ होटलको परिकल्पनासहित निर्माण कार्य थालनी गर्न लागेको हो ।’