काटमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा मिर्गौलाविद् एवम् चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. दिव्यासिंह शाहसहितको टोलीले दिने बताएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै सेवा प्रराम्भ हुने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “मिर्गौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ ।”हाम्रो खानपिन वा दैनिकीमा मिर्गौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो रु त्यसबाट कसरी जोगिनेजस्ता कुरालाई ध्यान दिनु पर्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीका अनुसार, उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको छ । उनले मिर्गौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै सजग रहन सुझाव समेत दिएका छन् ।
पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई उनले भने, “केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ ।” प्रधानमन्त्री ओलीले दुईपटक मिर्गौला प्रत्यारोपण गराइकेका छन् ।
वरिष्ठ मिर्गौला रोगविशेषज्ञ डा. ऋषिकुमार काफ्ले वर्षेनी नेपालमा तीन हजार व्यक्तिको मिर्गौला बिग्रने गरेको बताउ छन् । डा. काफ्लेका अनुसार अस्वस्थकर जीवनशैली, पानीको कमी, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नराउनुजस्ता कारणले मिर्गौला रोग लाग्ने गर्छ ।
“बिग्रँदो जीवनशैली र खानपान सन्तुलन नराख्दा मानिसको मिर्गौला बिग्रने गरेको छ”, उनले भने, “उपचारभन्दा पनि मिर्गौला बिग्रन नदिनका लागि मानिसलाई जनचेतना जगाउन आवश्यक छ ।”
विश्वको जनसङ्ख्यामध्ये १० प्रतिशत मानिसलाई मिर्गौला रोग लाग्छ । मिर्गौला बिग्रिएपछि प्रत्यारोपण र रक्तशुद्धीकरण दुई मात्र विकल्प हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल, सुमेरु अस्पताल र निदान अस्पतालमा गरिन्छ ।
सरकारले मिर्गौला प्रत्यारोपण र रक्तशुद्धीकरणको निःशुल्क व्यवस्था गरेको छ । डा. काफ्लेसँग वर्षेनी ५ हजारले डायलासिस र २ हजार ५ सय जनाले मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन् । ‘मिर्गौला रोगका साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ ।