काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा ५ नयाँ मोडेलका कार भित्र्याएको छ । कम्पनीले टाटाको टियागो, अल्ट्रोज, टिगोर, एचफाएभ र निक्सन नयाँ मोडेलका कार नेपालमा भित्र्याएको हो ।
टाटाका उक्त मोडेलका गाडीहरुको न्यूनतम मूल्य २८ लाखदेखि अधिकतम् ८९ लाख ९० हजार रुपैयाँसम्म रहेको सिप्रदीले जानकारी दिएको छ । मंगलबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीचमा सिप्रदीले नयाँ कारहरुको लञ्च गरेको छ ।
बजार सुहाउँदो किसिमका गाडीहरु भित्र्याएका कारण यस मोडेलमा नेपाली ग्राहकहरुको आकर्षण रहने कम्पनीको दाबी छ । ग्राहकहरुको रोजाइअनुसारको सस्तो मोडेलका कारसमेत उपलब्ध रहेका कारण यसमा ग्राहकको आकर्षण बढ्ने कम्पनीले दाबी गरेको छ ।
टाटाका गाडीहरु भारतमा मासिक ८ हजारको संख्यामा बिक्री भएको कम्पनीले बताएको छ । टाटाका नयाँ गाडीहरु रातो, पहेंलो र कालो आकर्षक रंगमा उपलब्ध छन् । टाटाले ‘न्यू फरइभर’ भन्ने स्लोगान सहित यी गाडीहरु नेपालमा भित्र्याएको हो ।
टियागो
टाटाको टियागो मोडेलमा ५ सिट क्षमता रहेको छ । सो गाडीले १९.८ देखि २३.८४ किलोमिटरसम्म माइलेज दिन्छ । यस मोडेलमा ११ सय ९९ सीसीसम्मको इन्जिन जडान भएको छ । टियागोको न्यूनतम २८ लाखदेखि ३७ लाख रुपैयाँसम्म छ ।
टिगोर
यस मोडेललाई भारतीय बजारकै सुरक्षित गाडीको रुपमा लिइएको छ । अफ रोडमा समेत सहज हुने भएकाले यस मोडेललाई सुरक्षित मानिएको हो । टिगोरको न्यूनतम मूल्य ३२ लाख ५० हजारदेखि अधिकतम ३९ लाख ९५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
अल्ट्रोज
टाटा अल्ट्रोजको इन्जिन ११ सय ९९ सीसीदेखि १४ सय ९७ सीसीसम्म उपलब्ध छ । यसमा डिजेल इन्जिन र पेट्रोल इन्जिनको विशेषाता छन् । यसको मूल्य ३५ लाख ५० हजार रुपैयाँ छ ।
टाटा निक्सन
टाटा निक्सनमा २१.५ किलोमिटर प्रतिघण्टा माइलेज रहेको छ । यसमा डिजेलको प्रयोग हुन्छ । सिट क्षमता ५ वटा रहेको छ । निक्सनको न्यूनतम मूल्य ३९ लाख ९५ हजारदेखि अधिकतम ५२ लाख ५५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । टाटा निक्सनको बडी टाइप एसयूभी रहेको छ । यस्तै, फ्यूल ट्याकको क्षमता भने ४४ लिटरसम्म छ ।
ट्रासमिसनको प्रकार भने अटोमेटिक रहेको छ । अटोमेटिक क्लाइमेट कन्ट्रोलदेखि एयर कन्डिसनरको सुविधाहरु यस मोडेलमा उपलब्ध छन् ।
टाटा एच फाएभ
टाटा एच फाइभमा १७ किलोमिटर प्रतिघण्टा माइलेज रहेको छ । यसको सिट क्षमता पनि ५ जनाकै रहेको छ । यस मोडेलका गाडी डिजेलबाट चल्छ ।
एसयूभी प्रकारको यस मोडेलमा इन्जिनको डिस्प्लेसमेन्ट सीसी भने १९ सय ५६ सीसी रहेको छ । एच फाइभको न्यूनतम मूल्य ८४ लाख ९९ हजारदेखि ८९ लाख ९० हजार रुपैयाँसम्म रहेको छ । यो मंगलबार सार्वजनिक गरिएको मध्ये सबैभन्दा महँगो गाडी हो ।
टाटा मोटर्सले भारत र नेपालमा ठूलो कम्पनीको रुपमा आफ्नो पहिचान बनाएको र दोस्रो ठूलो निजी कम्पनी भएको कार्यक्रममा जानकारी गराइएको थियो ।