काठमाडौं । पूर्वतयारीका काम पूरा नगरी हतार–हतारमा ठेक्का लगाउँदा नारायणघाट बुटवल सडकअन्तर्गत बर्दघाट–दाउन्ने क्षेत्रको काम अलपत्र परेको छ । नवलपरासी–बर्दघाटदेखि सुस्ता पूर्व गैंडाकोटको दाउन्नेसम्मको सडक विस्तारमा काम नहुँदा २ वर्षसम्म आयोजना अलपत्र परेको हो ।
दुई वर्षअघि सडक विस्तार तथा निर्माणका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वतयारीका काम अधुरै हुँदा काम गर्न पाएको छैन । निर्माण कम्पनीले ‘साइटस्थल’ निर्माण सामग्री तथा उपकरण ल्याए पनि रुख कटान र बिजुलीको पोल नसारेको बाहनामा काम गरेको छैन ।
यतिसम्म कि, २०७५ साल माघमा ठेक्का पाएको चिनियाँ कम्पनीको काम ४ प्रतिशत मात्रै छ । अर्थात, ठेक्का पाएको दुई वर्ष पूरा हुँदा सडक विस्तारको मुख्य कामले गति समात्न सकेको छैन ।
सरकारले कुनै पनि विकासे परियोजना निर्माण सुरु गर्नुअघि पूर्वतयारीका काम पूरा गरेर मात्र ठेक्का लगाउन भनेको छ । तर, रुख काट्ने, बिजुलीका पोल सार्ने र अन्य स्थानीय समस्या समाधान नगरी हतारमा ठेक्का लगाउँदा उक्त खण्डको सडक विस्तारको काम अघि बढ्नै सकेको छैन ।
सो खण्डमा अहिलेसम्म पनि रुख कटान र बिजुलीका पोल सारिएका छैनन् । रुख कटानको काम अन्तिम चरणमा पुगेको बताइए पनि विद्युत् प्राधिकरणको बिजुलीका पोल सार्ने काम अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।
कतिपय प्रक्रिया लम्बिदो हुन्छन्, हिजोदेखि रुख काट्ने काम सुरु भएको छ । त्यो छिट्टै सकिन्छ’ सो खण्ड हेर्ने आयोजना प्रमुख रमेशकुमार दृष्टिले भने, ‘बिजुलीका पोल सार्ने काममा केही समस्या छ, ती ‘हडल’हरु पूरा गर्दै ४२ महिनामा भनेको ४८ महिनमा होला तर, काम समयमै सकिन्छ ।’
उनले रुख कटान, बिजुलीका पोल, खानेपानी पाइपलगायतका पूर्वतयारीका काम ठेक्का सम्झौतामै सम्बन्धित ठेकेदार कम्पनीले नगरेको बताए । तर, अधिकांश ठेक्काका आयोजनामा पूर्वतयारीका काम पूरा गर्ने दायित्व सरकारकै वा सडक विभागकै हुन्छ ।
आयोजना प्रमुख दृष्टिले ठेकेदारले नै ठेक्का सम्झौताबमोजिम काम नगर्दा ढिलो भएको भन्दै पन्छिन खोजे । उनले भने, ‘हाम्रो अन्तर्राष्ट्रिय ठेकेदार कम्पनी छ ।
निर्माण सामग्री तथा उपकरण लगायतमा कुनै कमी छैन । साइटमा ल्याइसकेको छ । कतिपय कुरामा चिनियाँ कम्पनीले नै ढिला गरेको छ, कतिपय हाम्रोतर्फबाट गर्नुपर्ने काममा ढिलाइ भए होलान ।’
कोरोना महामारीका कारण मजदुर र निर्माण सामग्री आपूर्तिमा असहजता हुँदा पनि अपेक्षित रूपले काम हुन नपाएको उनले स्वीकारे ।
कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्म खण्ड ‘ख’ ४८ किलोमिटर मानेर ठेक्का सम्झौता गरिएको थियो । गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड विस्तार गर्न चिनियाँ कम्पनीले साढे ६ अर्ब रुपैयाँमा ठेक्का पाएको थियो ।
दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मा पनि सडक विस्तारमा अपेक्षित प्रगति हुन सकेको छैन । त्यसखण्ड पनि रुख काट्ने कामसँगै बिजुलीको पोल सार्न सकस देखिएको छ । सो खण्डको सडक विस्तारको काम निकै धीमा छ ।
बर्दघाटदेखि–दाउन्ने खण्डको सडक विगत १० वर्षदेखि मर्मत हुन नसक्दा त्यसक्षेत्रका यात्रुले पाउनुसम्मको दुःख पाइरहेका छन् । दैनिक जाम, धुलो, हिलो र दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडक मर्मत हुनुपर्नेमा झन जीर्ण बन्दै गएको छ ।
सडक विभागका अनुसार, प्रत्येक ५/५ वर्ष सडक मर्मत हुनुपर्ने हो । तर, सो सडकखण्ड वि.सं २०६७ सालमा कालोपत्रेपछि अहिलेसम्म मर्मत भएको छैन । त्यसयता मर्मत हुन नसक्दा अहिले कालोपत्रेको कुनै नाम निशान देखिँदैन । २०७२ सालमै मर्मत भइसक्नुपर्ने सडकखण्ड सरकारको उदासीनताले हालसम्म पनि मर्मत तथा विस्तार अघि बढ्न सकेको छैन ।
ठूला—ठूला खाल्डाखुल्डीसँगै वर्षायाममा हिलो र हिउँदमा सडक धुलाम्मे हुने गरेको छ । अहिले उक्त सडकको बीचमै कुनै मालबाहक गाडी वा ट्रक बिग्रियो भने घण्टौं सवारी जाम हुने गरेको यात्रुहरुको गुनासो छ । साढे ३ किलोमिटर सडक साँघुरो र जीर्ण हुँदा यात्रुहरु मर्कामा पर्ने गरेका छन् । दाउन्नेमा ३ लेन र अरू ठाउँमा ४ लेनको बनाउने आयोजनाले जनाएको छ ।
तर, अहिलेसम्म पनि सडकको मुख्य मर्मतको काम भने अघि बढ्न सकेको छैन । जीर्ण अवस्था नहुँदा नारायणगढदेखि बुटवल पुग्न दुई घण्टा लाग्थ्यो । तर, अहिले बुटवल पुग्न १० देखि १२ घण्टा लाग्ने गरेको यात्रुको दुखेसो छ ।
लामो समयसम्म जाम भए पनि खुलाउने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीकै हुन्छ । तर, यात्रुले घण्टौं जामको सास्ती हुँदा पनि ठेकेदार कम्पनीको कुनै उपस्थिति नहुने त्यहाँका स्थानीयको गुनासो छ ।
नारायणी पुलदेखि दुम्कीबाससम्मको सडक अन्त्यन्त जोखिमपूर्ण छ । यातायात बन्द गरेर सडक मर्मत गर्न नसकिएको आयोजना पक्षले जनाएको छ ।
बुटवलबाट पूर्व आउने ठूला तथा साना यातायातका साधन यही सडक हुँदै गुड्ने गर्छन् । सडकको क्षमताभन्दा बढीका मालबाहक गाडी, ट्याक्टर, ट्रकलगायतका ‘हेभी इकुप्मेन्ट’का सवारी नरोकिँदा सडकको स्वरुप बिग्रदै गएको छ ।
सडक विस्तारमा ६ वटा वन्यजन्तुमैत्री पुल, ८७ वटा ठूला कल्भर्ट, २८ वटा साना आकारका कल्भर्ट निर्माणको काम भइरहेको छ । गैंडाकोट दाउन्ने खण्डमा १२ वटा ठूला पुल निर्माण हुनेछन् ।