अहिले विशेष गरेर नयाँ–नयाँ कम्पनीहरूले आफ्नो बजार हिस्सा विस्तारका लागि बोनस दर धेरै देखाएर बिमालेख बिक्री गरेको पाइन्छ । सबैभन्दा बढी उमेर समूहको बोनसदर देखाएर पोलिसी बिक्री गर्ने गरेको गलत प्रवृत्ति बजारमा फस्टाएको छ । यसले बिमितलाई मात्र होइन, बिमा कम्पनीहरूलाई समेत समस्यामा पार्ने निश्चित छ । यस्ता परिवेशबाट बिमा कम्पनीहरू सचेत हुनु आवश्यक छ ।
बिमा कम्पनीहरूले लामो समयका लागि भन्दा पनि तत्कालीन फाइदालाई हेरेर काम गरौं भन्ने सोच बनाएको पाइन्छ । धेरै बोनस देखाएर काम गर्यो भने ति कम्पनीहरूलाई बोनसदर घोषणापछि काम गर्न निकै कठिन हुन्छ ।
यद्यपि सामान्य नागरिक (जसले बिमामा पर्याप्त ज्ञान राख्दैन), उनीहरूलाई झुक्याउने अवसर भने जहिले पनि रहन्छ । त्यसैले बिमा गर्न चाहनेहरूले पनि प्रचारको पछि लाग्नुभन्दा वास्तविकता बुझेर वा बोनस दरको आधार, बिमालेखको अवधि र प्रकृति बुझेर बिमा गरेको खण्डमा पछि ठगिएको महसुस गर्नुपर्दैन ।
बिमा कम्पनीहरूले एउटा उमेर समूहको बोनसदर देखाएर अर्को उमेर समूहको पोलिसी धेरै बिक्री गर्नुभन्दा पोलिसी नै सस्तो बनाएर धेरैभन्दा धेरै बिक्री गर्ने वातावरण वनाउनतर्फ लाग्नुपर्छ । यसरी अघि बढ्दा धेरै मान्छेको पहुँच बिमा क्षेत्रमा पुग्छ । देखावटी बोनसदरलाई अघि सार्नेभन्दा पनि बास्तविक बोनस दरलाई बढावा दिनु आवश्यक छ ।
बिमा कम्पनीले पनि पैसा बैंकमा राख्दा ७ प्रतिशत ब्याज पाउने हो । त्यसैले बरु ५० रुपैयाँ नै बोनस दिए पनि हुन्छ तर, बिमितलाई भ्रमित गर्नुहुँदैन र बास्तविकतामा आधारित रहेर काम गर्नुपर्छ । बढीभन्दा बढी मानिसहरूलाई बिमाको दायरामा लैजाने हो भने बिमाशुल्क (प्रिमियम दर) सस्तो गर्नुपर्छ ।
उदाहरणका लागि १ लाखको १५ वर्षे अवधिका लागि बिमा गर्दा अहिले ८ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ र कम्पनीको बोनस ५० रुपैयाँ छ । अर्कोतिर ८ को सट्टा १० हजार प्रिमियम लिने योजना अघि सार्ने र बोनस दर बढी आउँछ भन्ने अफवाह फैलाउनु गलत हो ।
यसले बिमा व्यवसाय बढ्दैन । बिमा कम्पनीहरूले देखावटी रुपमा बोनस दर धेरै देखाउनतर्फ लाग्यो भने बिमा कम्पनीहरू जोखिममा पर्न सक्छन् ।
( झा, नेपाल लाइफ इन्स्योरेन्सको पूर्वसीईओ हुन)