काठमाडौं । बलात्कार घटनाका दोषीलाई कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढ्दै उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बलात्कारका अपराधीलाई कानुनी कठघरामा उभ्याउन नसक्दा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको प्रतिष्ठा गुम्दै गएकोे बताए ।
काठमाडौंको होटल र्याडिसनमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि उनीहरुको सम्मान हुन नसकेको बताएका छन् ।
‘संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ,’ उनले भने, “विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर, कानुनले दिएका अधिकारहरूको व्यावहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ ।”
दिवसको अवसरमा विभिन्न क्षेत्रका पाँचजना महिला व्यवसायी सम्मानित भएका छन् । सम्मानित हुने महिला व्यवसायीहरूलाई उपराष्ट्रपति पुनले सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेहरुमा आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल, बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ छन् । त्यस्तै, एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ भने महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गरेकी छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति भए पनि विभिन्न झन्झट बेहोर्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए । अध्यक्ष श्रेष्ठले भने “जति दिने हो, बिना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गर्दैछौँ ।”
उनले महिलाले उत्पादन गरेका सामान प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रहसमेत गरेका छन् । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक/आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन् ।
कार्यक्रममा नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्क पनि उपस्थित थिए ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीनदिने व्यापार मेला (ट्रेड फेयर)को पनि उद्घाटन गरिएको छ । सोमबारदेखि सुरु भएको उक्त मेला बुधबारसम्म चल्नेछ ।