काठमाडौं । निकै लामो प्रतिक्षापछि बहुप्रतिक्षित मेलम्चीको पानी सुरुङमार्गको सफल परीक्षणपछि शनिबार सुन्दरीजलमा झरेको छ ।
करिब २५ वर्षअघि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना विभिन्न कालखण्ड झेल्दै परियोजनाले हाल आएर मूर्तरुप लिएको छ । अर्थात, काठमाडौं उपत्यकावासीले तिर्खा मेटाउने अन्तिम तयारीमा छन् ।
यसअघि फागुन १० गते सुरुङमा मेलम्चीको पानी पठाएर परीक्षण सुरु गरिएको थियो । दुई साता लामो परीक्षण पछि मेलम्चीको पानी सुरुङमार्ग हुँदै सुन्दरीजल प्रशोधन केन्द्रमा खसालिएको थियो ।
मेलम्चीको पानीको सफल परीक्षणपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजल नै पुगेर पानीको स्वागत गरेका छन् । प्रधानमन्त्रीले भनेका थिए, ‘मेलम्चीको विषय सुरु हुँदा मेरो कपाल कालै थियो । अहिले कालो कपाल नै भेटिन्न । यसको अर्थ हो, परियोजनाले लामो समय लाग्यो त ? ‘अब काम सम्पन्न भएको छ ।’ उनले मेलम्चीको वर्षौंदेखिको काठमाडौंवासीको सपना साकार भएको बताएका थिए ।
सुन्दरीजलमा पानी झरेसँगै काठमाडौं उपत्यकावासीले कहिले धारामा पानी थाप्न पाउँछन् भन्ने आम जनचासो छ । सुन्दरीजलबाट काठमाडौं उपत्यकाभित्र पानी वितरणका लागि पूर्वाधार संरचना धमाधम बनिरहेका छन् ।
विभिन्न ठाउँमा पानी वितरणका लागि पाइप बिच्छ्याइएको छ । कसरी र कहिलेदेखि महानगरवासीले मेलम्चीको पानी धारामा आउँछ भन्ने विषयमा खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रमेश न्यौपानले भने, ‘पानी वितरणका लागि केही पूर्वाधार तयार भएका छन् । र, वितरण प्रणाली ‘केयूकेएयल’बाट हुनेछ । कुल ९ वटा प्रणालीबाट पानी वितरणको तयारी गरिएको छ । त्यसबाट चैतको दोस्रो सातादेखि पानी वितरणलाई सुचारु गर्ने सरकारको तयारी छ ।’
उनले पहिलो चरणमा १७ करोड लिटर पानी उपत्यकामा वितरण हुने बताए । पानी वितरणको जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । ‘पहिलो चरणमा १७ करोड लिटर पानी वितरण हुनेछ ।’ उनले भने, ‘वितरणको जिम्मेवारी केयूकेएल नै गर्नेछ ।’
अब दैनिकजसो धारामा पानी दिइने
तत्कालका लागि पुरानै पाइप, धारा र संरचनाबाट नै पानी वितरण गर्ने योजना लिमिटेडको छ । सुरुवाती अवस्थामा पुरानै पाइपबाट पानी उपभोक्ताको धारामा छाडिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मिलनकुमार शाक्यले बताए ।
त्यसपछि भने बिच्छ्याइएका नयाँ पाइपमा पानी परीक्षण गर्ने काम मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने उनको भनाइ छ । मेलम्चीको पानी आएसँगै ९ दिनमा एकपटक धारामा दिने पानी दैनिकजसो दिन सकिने उनको भनाइ छ ।
तर, पुराना पाइप तथा संरचनाबाट पानी वितरण गर्दा कतैं पानीको चुहावट हुने र त्यसले सडक, ढललगायतका संरचनामा समेत असर गर्ने देखिएको छ । पानी वितरणका क्रममा हुने पानीको ‘लिकेज’ नहोस भनेर जनशक्ति र मर्मतसामग्री तयारी अवस्थामा राखिएको उनले बताए ।
हालसम्म सर्भिस रिजर्भवायर ट्याङ्क ९ वटा निर्माण भइसकेका छन् । थप एक निर्माणकै चरणमा छ । मेलम्चीको पानी सिस्टममा आइसकेपछि विस्तारै नयाँ पाइपलाइनमा परीक्षण गर्दै जाने तयारी रहेको निर्देशनालयका निर्देशक कमल श्रेष्ठले बताए ।
नयाँ व्यवस्थापन नहुँदासम्म अन्तरिम व्यवस्थापनअनुसार केयूकेयलकै पुरानो संरचनाबाट पानी वितरण गर्ने तयारी रहेको श्रेष्ठले बताए । कम्तीमा एक वर्षभित्र नयाँ पाइपलाइन र संरचनाबाटै पानी वितरण गर्ने योजना रहेको उनले बताए ।
पुरानो प्रणालीलाई विस्तारै घटाउँदै नयाँ पाइपलाइनबाट परीक्षण गर्दै अघि बढ्दै पानी दिने उनको भनाइ छ । काठमाडौं उपत्यकाको चक्रपथभित्र वितरण सञ्जालमामार्फत उपभोक्ताका घर–घरमा पानी पुग्नेछ ।
१५ हजार घरधुरीलाई तत्काल पानी दिन सकिने
अहिले नयाँ प्रणालीमा बिशालनगर, महाराजगन्जको उत्तरी भाग, बसुन्धारा, सामाखुसी, छाउनी, बाफल क्षेत्रमा पाइप बिच्छ्याउने काम अझै बाँकी छ । त्यो बाहेकको उपत्यकाभित्र ११ सयकिलोमिटर क्षेत्रफलमा पाइप बिच्छ्याइसकिएको छ । त्यसमध्ये २०० किलोमिटर पाइपको पानी परीक्षण भइसकेको छ । जसबाट उपभोक्तालाई धारामै पानी दिन सकिने अवस्था अहिले नै छ ।
त्यसमध्ये १५ हजार धारामार्फत उपभोक्तालाई पानी वितरण गर्न सक्ने अवस्था रहेको श्रेष्ठले बताए । करिब ८० हजार धारासहितको घरधुरीलाई पानी वितरण गर्न धारा बनिसकेको छ ।
इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्ट्रिट(सीएमसी)ले आर्थिक संकटका कारण परियोजना छाडेपछि बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको थियो । उसले १२ महिनामा पूरा गर्ने गरी ८५ करोड १ लाख ९४ हजार रुपैयाँमा ठेक्का पाएको थियो । कोरोना महामारीलगायतका कारण परियोजना केही ढिला सम्पन्न भयो ।
सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छाडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कुल १.४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गरेर सुरुङमा पानी परीक्षण भएको थियो ।
यसअघि सुरुङमार्गमा पानी परीक्षण गर्ने क्रममा टनेलको गेट भत्किँदा एकजना प्राविधिक इन्जिनियरको मृत्युसमेत भएको थियो । त्यसपछि, आयोजनाले सुरुङमार्गमा परीक्षणको काम रोकेर पुनः अध्ययन गरेर अडिट टनेल फेरेर पानी परीक्षण अघि बढाएको थियो ।
सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्मको करिब साढे २७ किलोमिटर लामो सुरुङमार्गबाट पानी ल्याइएको छ । सुन्दरीजलमा मेलम्चीबाट आउने १७ करोड लिटर पानी प्रशोधन केन्द्रसम्म ल्याएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा यो परियोजना अघि बढेको थियो हालसम्म आयोजनाका लागि करिब ३० अर्ब खर्च भइसकेको छ । पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड र दोस्रो चरणमा स्थानीय याङ्ग्री र लार्के खोलाबाट क्रमशः १७/१७ करोड गरी दैनिक ५१ करोड लिटर पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने योजना हो । मेलम्चीलाई काठमाडौं उपत्यकाको तिर्खा मेटाउने परियोजनाका रुपमा लिने गरिन्छ ।