स्याङ्जा । सहकारीमार्फत चक्लाबन्दी खेती सुरु भएको छ । सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रूपमा कागती खेती गर्न सुरु गरिएको हो ।
नेपाल सरकारको ‘नमूना कृषि विकास कार्यक्रम’अन्तर्गत थुमपोखरा साना कृषि सहकारी संस्था लिमिटेड वालिङ स्याङ्जाले एक हजार रोपनी जमिनमा ३० हजार कागतीका बिरुवा रोप्न सुरु गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वालिङमा कागतीका बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरिन् । सरकारको सहयोगमा उक्त सहकारीले वालिङ नगरपालिका वडा नं १२, १३, १४ का १५० किसानका हजार रोपनी जमिनलाई एकीकृत गरी पहिलो चरणमा कागती रोपिएको हो ।
कागती खेतीपछि तरकारी खेती सुरु गर्ने सहकारीको योजना रहेको बताएको छ । जमिनको माटो परीक्षण गरेर कागती खेतीका लागि उपयुक्त भएपछि सहकारीले सुन प्रजातिको कागती लगाएको हो ।
उक्त परियोजनाका लागि साढे दुई करोड रुपैयाँ लाग्ने सहकारीले जानकारी दिएको छ । नमूना कृषि कार्यक्रमका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डले ४८ लाख रुपैयाँ र गण्डकी प्रदेशको भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्रालयले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कागती, एभोकाडोसहित ड्रागन फ्रुट, तरकारी खेती पनि गर्ने सहकारीको योजना रहेको छ । कागती खेती फार्मलाई स्रोत केन्द्रको रुपमा विकास गर्ने सहकारीले जनाएको छ ।
देशभर चक्लाबन्दी खेती विस्तार गर्छौः मन्त्री अर्याल
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अर्यालले चक्लाबन्दी खेती देशभर बिस्तार गरिने बताइन् । उनले मुलुकमा पहिलोपटक जग्गा एकीकरण गरेर सामूहिक रुपमा खेती सुरु गरिएको दाबी गरिन् ।
व्यक्तिगत रुपमा सानो क्षेत्रमा गरिने कृषि कर्मले उत्पादन वृद्धि नभएकाले आधुनिक मोडलमा खेती गर्नका लागि जग्गा एकीकृत गरेर कागती खेती सुरु गरिएको मन्त्री अर्यालको भनाइ थियो । ‘कृषिमा आधुनिकीकरण र व्यवसायिकीकरण गर्नका लागि सामूहिक रुपमा चक्लाबन्दी खेतीलाई सरकारले सहयोग गरेकोको छ । यो मोडललाई हामी नमूनाका रुपमा विकास गर्छौँ’, मन्त्री अर्यालले भनिन् ।
यसैबीच कृषि उत्पादनलाई बढावा दिनका निम्ती सङ्घीय सरकारसँगै प्रदेश सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएको छ । आधुनिक मोडलमा खेती गर्न सहकारीले सुरुवात गरेकाले सहयोग गरेको गण्डकी प्रदेशको भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री लेखबहादुर थापाले बताए । ‘जग्गा बाँझो राख्न हुँदैन भनेर सहकारीमार्फत सामूहिक खेती गर्न हामीले सहयोग गरेका हौँ । सामूहिक रुपमा खेती गर्दा पहाडका जमिन सदुपयोग हुने विश्वास लिएका छौँ’, उनले भने ।
सहकारी विकास वोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारीमार्फत खेती गर्दा किसान सदस्यको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने बताए ‘सामूहिक रुपमा खेती गर्दा उत्पादन वृद्धिमा सघाउ पुग्ने विश्वास हामीले लिएका छौँ । कागती खेतीबाट सहकारीका किसान सदस्यले लाभ लिन सक्नेछन्’, पराजुलीले भने ।
पहाडी क्षेत्रमा जमिन बाँझो हुने क्रम बढेकाले नयाँ मोडल सुरु गरिएको वरिष्ठ कृषि अर्थविद् टेकप्रसाद लुइँटेलले बताए । अहिले लगाएको कागतीले तीन वर्षपछि उत्पादन दिन सुरु गर्ने उनको भनाइ थियो ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका केन्द्रीय अध्यक्ष खेम पाठकले सहकारीमार्फत खेती गर्दा कृषि उत्पादन बढ्न टेवा पुग्ने बताए । यस्तै कागती खेती गर्न सरकारी सहयोगसँगै किसानको पनि लगानी रहेको थुमपोखरा साना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन खनालले बताए ।