काठमाडौं । सरकारले नै बन्दाबन्दी (लकडाउन) अवधिको विद्युत महसुल छुट दिने व्यवसायीहरुलाई आश्वासन दिइरहेको बेला नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाले भने त्यहाँका तीनवटा ठूला होटलहरुको लाइन काटेको छ । लकडाउन अवधिको डिमाण्ड शुल्कसमेत नतिरेको भन्दै होटलहरुलाई थप ४० प्रतिशत जरिवानासमेत तोकेको छ ।
विद्युत प्राधिकरणको भैरहवा शाखाले केही दिन अघिदेखि त्यहाँका होटलहरुलाई जानकारी बिनै लाइन काट्न थालेको व्यवसायीले गुनासो गरेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नै होटलहरुलाई पनि विद्युत महसुलमा छुट दिने र यस विषयमा मन्त्रिपरिषदबाट निर्णय गराउने आश्वासन दिइरहेको बेला प्राधिकरणले भने लाइन काटेको छ ।
सरकारका मन्त्रीहरुले नै आश्वासन दिएपछि व्यवसायीहरुले पनि त्यस अवधिको शुल्क बुझाएका थिएनन् । त्यति मात्र हाेइन, विद्युत प्रयोग नै नगरेको बेलाको पनि डिमाण्ड शुल्क प्राधिकरणले लगाएको भन्दै उनीहरुले त्यसको विरोध गर्दै आएका छन् ।
सिद्धार्थ होटल संघ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भैरहवा र लुम्बिीका धेरै होटलको लाइन काट्दा व्यवसायीहरुले जानकारी भने नगराएको बताए । हालसम्म आफूहले जानकारी प्राप्त गरेको मध्ये निर्भाना, पवन र नान्स होटल रहेको उनको भनाइ छ ।
एक साता अघिदेखि नै त्यस क्षेत्रका होटलहरुको लाइन काटेको थियो । बिहीबार त्यहाँको प्रशासन कार्यालयको निर्देशनपछि प्राधिकरणले होटलमा काटेको लाइनहरु जोडिसकेको छ ।
प्राधिकरणले होटलका सञ्चालकहरुलाई जानकारी नै नगराई विद्युत काटेर व्यवसायीहरुलाई दुःख दिएको नान्स होटलका सञ्चालक श्रेष्ठको भनाइ छ । लकडाउनअघि आफूहरुले नियमित रुपमा प्राधिकरणको शुल्क दिइरहेको र अहिले पनि तिर्न तयार रहेको बताउँदै उनले सरकारबाट नै छुट दिने आश्वासन आएकाले नतिरेको उनले बताए ।
सरकारले केही समयअघि मात्र अति प्रभावित क्षेत्रमा परेका विभिन्न उद्योगहरुको विद्युतको डिमाण्ड शुल्कमा छुट दिएको थियो । विद्युत प्राधिकरण भैरहवाका प्रमुख जितेन्द्रकुमार झाले बक्यौता रकम नतिर्ने हरुको लाईन काटिएको बताए ।
बिजुलीको बिल बुझाएको ६० दिन भित्र रकम नबुझाउने करिब ३०० जनाको लाईन काटिएको र त्यसमा एक दर्जन होटल पनि त्यसमा परेको उनले जानकारी दिए ।
व्यवसायीहरुबाट २२ लाख रुपैयाँसम्म महसुल उठाउन बाँकी रहेकोले लाइन काटेको र बुझाउने प्रतिबद्धतापछि जोडिएको समेत उनले स्पष्टपारे । उनका अनुसार प्राधिकरणले बक्यौता रकम तिर्नलाई तालिका समेत बनाइदिएको छ