काठमाडौं । सरकारले हरियो तरकारीमा मुलुक आत्मनिर्भर हुने बताइरहँदा पछिल्लो एक वर्षमा मात्रै भारतलगायतका अन्य मुलुकबाट झन्डै ७ अर्ब रुपैयाँबराबरका हरिया तरकारी आयात भएको छ ।
आर्थिक वर्ष २०७५/०७६ को एक वर्षको अवधिमा ६ अर्ब ९० करोड रुपैयाँबराबरका हरिया तरकारी आयात भएको भन्सार विभागले जनाएको छ । दुई वर्षभित्र हरिया तरकारीजन्य वस्तु उत्पादन बढाई आत्मनिर्भर हुने सरकारी लक्ष्य छ । चालू आवको अन्त्यसम्म हरिया तरकारीमा आत्मनिर्भरको लक्ष्य हासिल गर्न निकै चुनौतीपूर्ण छ ।
नेपाली किसानलाई प्रोत्साहन गर्ने हो भने नेपाल तरकारीलगायत अन्य कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने सम्भावना छ ।
खासगरी हरिया तरकारीमा ताजा टमाटर, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका विभिन्न प्रकारका तरकारी आयात भएका हुन् । बन्दा र काउली जस्ता हरिया तरकारीको आयात केही कम देखिए पनि प्याज, लसुन र टमाटरको आयात बढ्दो छ ।
आलु र प्याजको व्यावसायिक उत्पादन हुन नसक्दा पनि भारतसँगै निर्भर हुनुपर्ने अवस्था छ । स्वदेशी किसानले उत्पादन गरेका तरकारीजन्य वस्तुले बजार नपाएको अवस्था पनि छ । किसानले उचित बजार र मूल्य नपाएपछि बन्दाबारीमै डोजर लगाउनु पर्ने अवस्था सिर्जना हुन्छ । अझै पनि बजार र मूल्यको जोखिम उत्तिकै छ, जसले आयातलाई प्रसय दिएको छ ।
सरकारले नै अघि बढाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेका तरकारी जोन र सुपरजोनमार्फत किसानलाई उत्पादनमा जोड दिने गरी अनुदान दिनुपर्ने राष्ट्रिय उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । किसानलाई समयमै मल, बीउ, प्राविधिक सीप र तालिमका साथै उत्पादित तरकारीजन्य कृषि उपजको बजार मूल्यको ग्यारेन्टी सरकारले लिनुपर्ने उनको भनाइ छ । ‘तरकारीमा आत्मनिर्भर बन्न नसकिने भन्ने हुँदैन । किसानलाई समयमै मल, बीउ र तालिमका साथै उनीहरुले उत्पादन गरेका वस्तुको बजार मूल्यको ग्यारेन्टी सरकारले गर्नुपर्छ,’ उनले भने ।
कति मूल्यका कुन-कुन तरकारी आयात भए
भन्सार विभागको तथ्याङ्कअनुसार, सबैभन्दा बढी मूल्यको प्याज आयात भएको छ । उक्त अवधिमा ५ अर्ब २६ करोड ९६ लाख १४ हजार रुपैयाँबराबरको प्याज आयात भएको देखिन्छ । ३७ करोड १८ लाख ९६ हजारको लसुन आयात भएको छ । त्यस्तै, ५२ करोड ६९ लाख २५ हजार रुपैयाँको टमाटर, ५० लाख ८८ हजारकाा काउली÷ब्रोकाउली, ६ लाख ८६ हजारका बन्दा, ४ लाख ३६ हजारको गाँजर, २० लाख १ हजारको मटरकोसा, १३ लाख ३५ हजारको दाना सिमी, १० लाख ९ हजारको कुरिलो, ४१ लाख २८ हजारको ताजा फर्सी र अन्य विभिन्न खालका हरिया तरकारी ६७ करोड ३० लाख ९१ हजार रुपैयाँबराबरको आयात भएको छ ।
यो ताजा र हरियो तरकारी आयातको मात्रै विवरण हो । अन्य तरकारी जस्तै, आलू, च्याउलगायतका तरकारीजन्य वस्तु समावेश नगरे पनि यसको आयात भने उच्च छ ।
यसका अतिरिक्त स्वदेशी तरकारी उत्पादनको वृद्धि र विषादीरहित तरकारी भित्र्याउन भन्दै भन्सारमा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने व्यवस्था गरिएको छ । यसले आयातको परिमाणमा कमी भने ल्याउन सकेको छैन । अनौपचारिक व्यापारका कारण भारतलगायतका देशबाट आउने तरकारीजन्य वस्तुको परिमाण बढेको जस्तो देखिएको कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
बन्दा, काउलीजन्य वस्तुको आयात घटेको र निर्यातसमेत बढेकाले मूलतः हरियो तरकारीमा आत्मनिर्भर उन्मुख हुने स्थितिमा रहेको प्रवक्त सुवेदीले बताए । आलु र प्याजमा पनि आत्मनिर्भर हुन विशेष कार्यक्रम अघि बढाइएको सुवेदीले बताए । ‘अनौपचारिकरुपमा भारतबाट तरकारी आउने गर्दा परिमाण केही बढी देखिन्छ । आलु र प्याजबाहेक केही तरकारीमा भने आत्मनिर्भर उन्मुख हुने अवस्थामा छौं,’ उनले भने, ‘यस वर्ष तरकारी जोन र आलु प्याज आत्मनिर्भर कार्यक्रम थप गरेर लागू गर्दैछौं ।’