काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले गरेको बन्दाबन्दी (लकडाउन) अवधिको डिमाण्ड शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाले चारतारे होटल नान्सको लाइन काटेको छ ।
लकडाउन अवधिको डिमाण्ड शुल्कमा सरकारले नै छुट दिने विषयमा छलफल अघि बढिरहेका बेला प्राधिकरणले भने होटलको लाइन काटेको हो । होटलका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले सरकारसँग वार्ता भइरहेको बेला प्राधिकरणले भने आफूहरुलाई जानकारी नै नगराई लाइन काटेको बताए । लकडाउनअघि आफूहरुले नियमित रुपमा प्राधिकरणको शुल्क दिइरहेको र अहिले पनि शुल्क तिर्न तयार रहेको बताउँदै सरकारले नै छुट दिने आश्वासन दिइरहेको उनले सुनाए ।
‘सरकारले नै व्यवसाय बन्द गर्ने, त्यो अवधिको डिमाण्ड चार्ज तिर भन्ने र जरिवानासमेत लगाउने कार्य गलत हो’, उनले भने । श्रेष्ठले प्राधिकरणलाई ९ लाख रुपैयाँ बिजुलीको बिल तिर्न बाँकी छ । त्योसँगै प्राधिकरणले डिमाण्ड शुल्कको थप ४० प्रतिशतसमेत जरिवाना लिने गरेको छ । व्यवसाय बन्द भएको समयको समेत प्राधिकरणलाई जरिवाना तिर्नुपर्ने भएको छ ।
सरकारले केही समयअघि मात्र अति प्रभावित क्षेत्रमा परेका विभिन्न उद्योगहरुको विद्युतको डिमाण्ड शुल्कमा छुट दिएको थियो ।
तर,त्यो बेला होटललाई भने सेवा उद्योगमा रहेको र उत्पादन क्षेत्रलाई पहिलो चरणमा छुट दिएको भन्दै यस विषयमा छलफल अघि बढाइरहेको प्राधिकरणका अधिकारीहरुले बताउँदै आएका थिए ।
बाल्दै नबालेको समयको पनि शुल्क दिनुपर्ने र त्यसमा पनि ४० प्रतिशत जरिवाना दिनुपर्ने अवस्था आएको भन्दै होटल व्यवसायीहरुले पटक-पटक अर्थमन्त्री विष्णु पौडेल र पर्यटनमन्त्री भानुभक्त ढकालसँग छलफल गरिरहेका थिए ।
अर्थमन्त्री पौडेलले विद्युत शुल्कमा छुट दिन आफूहरु तयार रहेको र उत्पादनमूलक उद्योगमा नपरेकोले यस अघि निर्णय गर्न नसकिएको बताउँदै अबको मिन्त्रपरिषदमा यो प्रस्ताव लगेर पास गराउने आश्वासन आफूहरुले पाइरहेको बेलामा प्राधिकरणले होटलमा गएर विद्युत काटेको घटना निन्दनिय रहेको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।भैरहवाका होटलहरुमा प्राधिकरणले त्यहाँका व्यवसायीहरुलाई डिमाण्ड शुल्क नतिरे लाइन काट्ने धम्की दिइरहेको थियो ।