काठमाडौं । वायुसेवा सञ्चालक संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सगरमाथा राष्ट्रिय निकुञ्जभित्र हेलिकप्टर अवतरण गराउन पाउनु पर्ने माग राखेका छन् । केही साताअघि निकुञ्जले हेलिकप्टर अवतरणमा लगाएको रोक फुकुवा गर्न उद्योग मन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
बुधबार वायु सेवा सञ्चालकहरूले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संरक्षित क्षेत्रहरूमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडानहरू निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गरेका छन् ।
हेलिकप्टरहरू निर्वाध रुपले चल्न नपाए आर्थिक अभाव भई सेवा नै बन्द हुने अवस्था आउने भन्दै वायु सेवा सञ्चालकहरूले उडान रोक्का फुकुवा गर्न आवश्यक पहलका लागि मन्त्री भट्टलाई आग्रह गरेका हुन् ।
संघका सचिव सुमन पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको निर्णयले हेलिकप्टर उद्योगमा अनिश्चितता आएको बताए । हेलिकप्टरलाई नियन्त्रण गर्न खोजे हेलिकप्टर उद्योग मात्रै नभई पर्यटन उद्योगमा समेत असर परि आर्थिक क्षेत्रमा समेत असर पर्ने र धेरैको रोजगारीसमेत गुम्ने उनको भनाइ छ । विदेशी बजारमा नेपाली पर्यटन क्षेत्रको विश्वसनीयताप्रति प्रश्न उठ्ने भन्दै हेलिकप्टरलाई निर्वाध रुपमा चल्न दिनुपर्ने उनले बताए ।
ज्ञापनपत्र बुझ्दै उद्योगमन्त्री भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताए । ऐन, कानुनको पालना हुने गरी सन्तुलित ढंगले अघि बढ्नुपर्ने भन्दै उनले सबैलाई बोलाएर व्यवस्थित ढंग्ले छलफल गरी समस्या आउन नदिन दीर्घकालीन उपाय खोज्नु पहल गर्ने मन्त्री भट्टले आश्वासन दिएका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकप्टर अवतरण/होभारिंग नियमनको परिपत्रमा हेलि अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङबोचे र नाम्चे स्थितका ३ स्थान बाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो । यस निर्णयले हेलिकप्टर संचालक कम्पनीहरू तथा समग्र पर्यटन व्यवसाय मर्कामा परेको भन्दै पूर्ववत रुपमा अवतरण गर्नुपर्ने माग गर्दै आएका छन् ।