काठमाडौं । सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँको समर्थन मूल्य सिफारिस गरेर मन्त्रीस्तरीय निर्णयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ ।
वाणिज्य मन्त्रालयबाट छिट्टै मन्त्रिपरिषद्मा गएर गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए ।
उनका अनुसार, गत वर्षको तुलनामा उत्पादन लागत बढेको आधारमा किसानलाई लाभ हुने गरी ९० रुपैयाँ बढाएर मूल्य सिफारिस गरिएको छ । गत वर्ष गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकिएको थियो ।
तर, यसवर्ष भने किसानलाई १० देखि १५ प्रतिशतसम्म लाभ हुने गरी बढाएर मूल्य सिफारिस गरिएको प्रवक्ता घिमिरेले बताए । मल, पानी, परिश्रमसहित प्रतिक्विन्टल ३ हजार १ सय १२ रुपैयाँ हाराहारीमा मूल्य सिफारिस गरी पठाइएको उनले बताए ।
समर्थन मूल्य तोक्दा लागत र महँगीको अवस्था हेरी किसानलाई प्रोत्साहित गर्ने हिसावले गरिएको उनले बताए । गत वर्षको तुलनामा यसवर्ष गहुँ उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।
अघिल्लो वर्ष देशभर झन्डै साढे २० लाख टन गहुँ उत्पादन भएको थियो । पहिलो पटक सरकारले गत वर्ष गहुँको समर्थन मूल्य तोक्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेको थियो ।
यसअघि आर्थिक वर्ष २०७४/०७५ मा सरकारले गहुँको समर्थन मूल्य तोकेको थियो । त्यतिवेला गहुँको प्रतिक्विन्टल २ हजार ५ सय ७१ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । त्यसपछि आव २०७५÷०७६ मा मूल्य निर्धारण भएन । यस वर्षका लागि तेस्रा पटक गहुँको समर्थन मूल्य तोकिँदैछ ।