काठमाडौं । नेपाल वायुसेवा निगमले ११ वर्षपछि जापानको ओसाकामा सीधा उडान गर्ने भएको छ । आउँदो भदौ १२ गतेबाट ओसाकाको कान्साई विमानस्थलमा उडान गर्ने आन्तरिक तयारी पूरा गरेको छ । निगमले सन् २००८ बाट जापान जाने उडान बन्द गरेको थियो ।
लामो समयपछि राष्ट्रिय ध्वजावाहक जहाजमार्फत जापानको ओसाकामा उडान गर्ने तयारी गरे पनि पर्याप्त यात्रु पाउन सकेको छैन । ‘अन्य एयरलाइन्सले भन्दा सस्तो भाडा र सीधा उडान गर्दा पनि यात्रु नपाउनु दुखद हो,’ निगमका उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यात्रु किन कम नआएका हुन्, यस विषयमा गहन अध्ययन भइरहेको छ ।’ यात्रुलाई आकर्षित गर्न विभिन्न प्याकेज ल्याउने निगमको तयारी छ ।
निगमले सुरुआती चरणमा १ महिनाका लागि एकतर्फी ३६ हजार ९९९ र दुईतर्फी ७२ हजार ८१४ रुपैयाँ भाडादर तोकेको छ । तर, यात्रुको चाप भने न्यून छ ।
यात्रु जति नै भए पनि निगमले उडान तालिका भने नसार्ने बताएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले १२ गतेबाट नियमित उडान गर्ने जानकारी दिए । सुरु सुरुमा यात्रुहरु थोरै भए पनि पछि बढ्दै जाने अपेक्षा उनको छ ।
निगमले १ वर्षअघि खरिद गरेका २ ओटा वाइडबडी जहाजले लामो दूरीमा उडान नगरेको भन्दै आलोचना भइरहेका बेला लामो र नयाँ गन्तव्यमा पहिलो पटक उडान गर्न लागेको हो । यसअघि दुई पटक तालिका फेर्दै आएको निगमले यस पटक भने निर्धारित समयमै उडान गर्ने गरी तयारी गरिरहेको छ ।
विगत पाँच वर्षदेखि जापान अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आएको पानासिया एजुकेसन फाउन्डेसनका सञ्चालक लीलाराम खड्काले निगमले नियमित उडान गर्ने टुङ्गो नै नभएका कारण पर्याप्त यात्रु नपाएको बताउँछन् । नियमितरुपमा उडान गरेमा अधिकांश नेपालीहरु निगमकै जहाजमा जान इच्छुक रहेको उनको भनाइ छ ।
अन्य एयरलाइन्समा जाँदा ४ देखि २४ घण्टासम्म ट्रान्जिट पर्ने र विभिन्न झन्झट बेहोर्नुभन्दा सीधा जाने निगमकै जहाजमा विद्यार्थीहरु जापान पठाउन आफूहरु तयार रहेको सञ्चालक खड्काको भनाइ छ । हाल नेपालबाट जापानका लागि विभिन्न एयरलाइन्सहरुले ४० देखि ५५ हजार रुपैयाँमा एकतर्फी उडान गर्दै आएको छ ।
सीधा उडान हुने र भाडादर पनि सस्तो हुने भएकाले नियमित उडान गरेमा धेरै नेपालीहरु निगमकै जहाजमा यात्रा गर्ने जापानमा रहेका नेपाली विद्यार्थी सुन्दर योञ्जनको भनाइ छ । निगमले लामो समयदेखि जापान उडान गर्ने हल्ला गरे पनि नियमित उडान नभएकै कारण यात्रुहरु नपाएको हुनसक्ने उनको भनाइ छ ।
ओसाकाबाट नेपालीहरु बस्ने ठाउँसम्म पुग्न विमानस्थलबाट ट्रेनमा २ देखि ४ घण्टासम्म लाग्ने योञ्जनको भनाइ छ । ‘अन्य एयरलाइन्समा लामो समयसम्म ट्रान्जिटमा बस्नुभन्दा ४ घण्टा ट्रेनको यात्रा गर्नु नै बेस हुन्छ,’ क्यापिटलसँग कुरा गर्दै योञ्जनले भने, ‘तर निगमले नियमित उडान चाहीँ गर्नुपर्यो ।’
अन्य एयरलाइन्सबाट जापान जाँदा मलेसिया, सिङ्गापुर, दुबई, चीन, थाइल्यान्डलगायतका देशमा ट्रान्जिट पर्ने गर्दछ । ओसाकाबाट केउको, नारा, नागोया सहर जान नजिक पर्छ भने राजधानी टोकियो पुग्न पनि सहज हुन्छ । यता सेनदाईमा पुग्न भने ४५ मिनेट विमान यात्राबाट पुग्न सकिन्छ ।
निगमले साताका तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने छ । काठमाडौंबाट ६ घण्टा ३० मिनेटमा ओसाका पुग्न सकिन्छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ । ओसाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन ६ः०० बजे काठमाडौं आइपुग्नेछ ।