काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनामा विगत एक वर्षदेखिको ज्याला नपाएको भन्दै हड्तालमा उत्रिएका नेपाली कामदारले अहिलेसम्म पनि भुक्तानी पाउन सकेका छैन ।
झन्डै तीन सातादेखि आन्दोलनरत कामदारको ज्याला भुक्तानी गर्नका लागि इरानी परामर्शदाता कम्पनी महाव घोड्स इन एसोसिएसनले अहिलेसम्म पनि चासो नदेखाएको हो । इरानी परामर्शदाताले नै नियुक्त गरेर खटाएका नेपाली कामदारले लामो समयसम्म भुक्तानीका लागि आयोजना कार्यालय परिशरमा धर्ना र हड्ताल गरिरहेँ पनि विवाद सुल्झिन सकेको छैन ।
गत असार २२ गते रोजगारदाता र श्रमिकबीच एक वर्षको बाँकी पारिश्रमिक एक महिनाभित्र दिने मौखिक सहमति भएको थियो । उक्त सहमतिउपर पटक–पटक भुक्तानीका लागि विभिन्न निकायसँग हारगुहार गरे पनि माग सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको निर्माण सुपरभिजन इन्जिनियर हर्कबहादुर ऐर बताउँछन् । तीन सातादेखि निरन्तर भुक्तानी पाउँ भनेर धर्ना दिए पनि कसैले नसुनेको उनको गुनासो छ ।
कार्यरत श्रमिकको पाउने ज्याला उपलव्ध गराउने बिषयमा विदेशी परामर्शदाता कम्पनीलाई बोलाएर छलफल गरिरहे पनि विवाद समाधान हुन नसकेको आयोजनाका सिनियर डिभिजन इन्जिनियर ईश्वरीप्रसाद तिवारीले बताए ।
पटक–पटक भुक्तानी लगेर कर्मचारीलाई भुक्तानी गर्न आग्रह गर्दा पनि परामर्शदाता कम्पनीले अटेर गरेको उनले बताए । हाल परियोजनामा इरानी परामर्शदाता कम्पनी र नेपालको इन्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इन नेपाल(इकोकोडी)बीच संयुक्त रूपमा काम अघि बढेको थियो ।
कार्यरत श्रमिकहरूले आयोजनाको काम छाडेर माघ २६ गतेदेखि पारिश्रमिकका लागि भेरी बबई परियोजनाको साइट कार्यालयमै हड्तालमा छन् । पारिश्रमिक नपाएसम्म काममा नफर्कने र हड्ताल कायमै राख्ने मजदुरको अडान छ । यद्यपी, सम्बन्धित आयोजना र निकायले भने अहिलेसम्म मजदुरको मर्का बुझ्न सकेको छैन । राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना निर्माणमा मजदुरको बेदना संघीय सरकारले पनि सुन्न सकेको छैन । परामर्शदाता र कामदार तथा नेपाली कम्पनीका तर्फबाट समेत ७/८ पटकसम्म लिखित निवेदन दिइसकिएको छ ।
इरानी विदेशी परामर्शदाताले नेपाली कामदारको एक वर्षको झन्डै डेढ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्रोतले बतायो । अहिले आयोजनाको दोस्रो चरणको निर्माण कामहरू हेडवक्र्स, सर्ज साफ्ट र पावरहाउस निर्माण लगायतका काम भइरहेको छ ।
तर, ४८.८ मेगावाट बिजुली निकाल्ने गरी डिजाइन भएको भेरी बबइ जलविद्युत् आयोजना निर्माणमा दुइवटा ठेक्का प्रकृयामा पनि ढिलाइ हुँदै गएको छ ।
खासगरी, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका छुट्टाछुट्टै ठेक्का लगाउने प्रकृया अहिलेसम्म अघि बढ्न सकेको छैन । फलस्वरुप, सो परियोजना निर्माणको कामले गति लिन सकेको छैन ।
यसअघि दुईवटै प्याकेटका ठेक्कामा विवाद आएपछि आयोजनाले ठेक्का स्वीकृत नगरी ठेक्का स्थगित भएका थिए । हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि गरिएको दुई अर्बको टेण्डर रद्द भएको थियो ।
पाँचवटा कम्पनी प्रतिष्पर्धामा इच्छुक भए पनि बन्दाबन्दीका कारण काम हुने सम्भावना नदेखेपछि जलस्रोत तथा सिँचाइ विभागले उक्त टेण्डर रद्द गरेको थियो । त्यसपछि नयाँ ठेक्का प्रक्रिया अहिलेसम्म अघि बढ्न सकेको छैन ।
हाइड्रो मेकानिकलतर्फको ठेक्का फागुन महिनाभित्र र त्यसपछि इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का लगाउनले गरी फाइल पेश गरिसकेको तिवारीले बताए । ‘पहिलेका दुइवटा ठेक्का ‘क्यान्सिल’ भएपछि पनि हामीहरुले ठेक्का ‘रिम्भ्यू’ मै छलफल गरिरहेका थियौैैं । विवाद किन भयो र फेरी रिभ्यू गर्नुपर्दा नयाँ ठेक्का लगाउन केही समय लागेको हो’ उनले बताए । ती दुइवटा ठेक्काको विवाद अदालतमा समेत पुगेको थियो ।
नयाँ ठेक्का प्रक्रियामा जाँदा जलविद्युत् आयोजना निर्माणको समयावधि लम्बिने देखिएको छ । भेरी बबई जलविद्युत् आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।
पहिलो चरणमा, परियोजनाको १२ किलोमिटरको लामो सुरुङ खन्ने काम निर्धारित समयभन्दा एक वर्षअघि सम्पन्न भइसकेको छ । पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) उपकरणको प्रयोग गरी सुरुङ खनिएको थियो ।
सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिने आयोजनाको लक्ष्य छ । भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत उत्पादनसँगै बाँके र बर्दियाको खेतीयोग्य जमिनमा सिँचाइ पुयाइने परियोजनाको लक्ष्य छ ।