काठमाडाैं । नेपाल छोडेको धेरै वर्ष भइसकेको छ । बेला–बेलामा भने आइरहेको हुन्थ्येँ। मलाई नै थाहा थिएन कि हाम्रो नेपाल यति धेरै परिवर्तन भइसके छ । यहाँ भान्छेलाई पनि एयरपोर्टमा २ सय जना मान्छेले स्वागत र सम्मान गर्दो रहेछ भन्ने थाहा पाएँ ।
यो भनेको नयाँ नेपालको सुरुवात भएछ भन्ने लागिसकेको छ । पहिले भन्न पनि लाज लाग्थ्यो कि हामी कुक हौं, सेफ हौं । तर, आज सेफ र कुकको ड्रेसमा छाती फुलाएर हिँड्ने दिन आएको छ ।
मास्टर सेफको प्रतिस्पर्धामा रहँदा योमरी, गुन्द्रुकलगायतका परिकारहरू देखाउन प्रयास गरेँ । नेपाल खाना र परिकारको हिसाबले धनी देश हो । मास्टर सेफको दौडानमा मैले नेपालको खानाको परिकारको समेत प्रचार गर्ने प्रयास गरे ।
अब हाम्रो देश कृषि प्रदान होइन, टुरिजम देश भइसकेको छ । यहाँ आवश्यक अधिकांश खानाहरू विदेशबाट आउने गरेको छ । यहाँ उत्पादन हुने खानाहरूलाई हामीले नै प्रचार गर्न सकेको छैनौं । सांस्कृतिक महत्व बोकेको खाना र खाजालाई अझै पनि राष्ट्रिय खानाको रुपमा प्रयोग गर्न सकेका छैनौं । त्यसैले अहिले नेपालको खानामा दाल भातमा मात्र सीमित भएको छ ।
अहिले विदेशबाट आउने पर्यटकहरूले नेपालमा खाना र पानी खानसमेत डराउने गरेका छन् । नेपालबाट फर्कने आधा पर्यटकलाई फुड पोइजन हुने गरेको छ । जसको कारण उनीहरू नेपाल आउने बित्तिकै जस्तोपायो त्यस्तो खानाहरू खान मान्दैनन् । विदेशबाटै नेपाल आउँदा नै उनीहरूले लेखेका हुन्छन् कि तातो खाना खाने र तातो पानी खाने भन्ने हुन्छ ।
तर, त्यही पर्यटक ब्राजिलमा गयो भने चिसो पानी खान्छन् र त्यही किसिमको परिकारहरू खाना रुचाउँछन् । यसका लागि सरकारले विशेष चासो देखाउन आवश्यक छ । नेपाली रेष्टुराँ र होटलहरूको खाना कत्तिको स्वस्थ्यकर छ भनेर परीक्षण गर्नुपर्छ ।
तर, नेपाली खाना र नेपाली परिकालाई विश्वमाझ पुर्याउन सके धेरैको मन जित्न सकिनेमा कुनै दुई मत छैन । त्यसैले मैले जहाँबाट सकेको छु, त्यहाँबाट आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु ।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको सम्मान कार्यक्रममा राखेको मन्तव्यको अंश