काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेडले कम्पनी ऐन उल्लंघन गर्दा पनि नियामक बिमा समिति मौन छ । कम्पनी सञ्चालन आएदेखि गत आर्थिक वर्षसम्मको साधारणसभा गरेको छैन । २०७१ साउन १८ गतेदेखि कम्पनीले औपचारिक रूपमा निर्जीवन बिमा व्यवसाय सुरु गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७१/०७२ देखि गत आर्थिक वर्ष ०७६/०७७ सम्मको लेखापरीक्षण गरेको छैन । लेखापरीक्षण नभएपछि कम्पनीले साधारणसभा गर्न पाउँदैन । साधारणसभा समयमा नगरेपछि कम्पनीले जरिवाना तिर्दै आएको छ । जरिवाना तिर्ने बरु साधारणसभा नगर्ने रणनीति राष्ट्रिय बिमा कम्पनीको छ ।
६ वर्षको साधारणसभा नगर्दा विभिन्न आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीले लाभांश पाएका छैनन् । २०७१ देखि चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको सञ्चित नाफा २ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ छ । यस्तै सञ्चित कोषमा ३ अर्ब ३ करोड ७० लाख रुपैयाँ जम्मा भइसकेको छ । लाभांश नपाउँदा पनि सेयरधनीले बोलेका छैनन् भने कम्पनीले साधारणसभा नगर्दा नियामक बिमा समिति चुपचाप छ ।
कम्पनी ऐनअनुसार हरेक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । राष्ट्रिय बिमाले यो नियमको उल्लंघन गर्दै आएको छ । समितिबाट सञ्चालन स्वीकृति पाएका अन्य बिमा कम्पनीहरूले गत आर्थिक वर्षको साधारणसभा गरेर सेयरधनीहरूलाई दिने लाभांश वितरण गरिसकेका छन् ।
कम्पनी ऐनमा यस्तो छ व्यवस्था
कम्पनी ऐन २०६३ को दफा ७६ को उपदफा १ अनुसार प्रत्येक पब्लिक कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ । त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्नेछ । त्यस्तै, ३ महिनाभित्र साधारणसभा गर्न नसकेको कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालयले निर्देशन दिन सक्ने व्यवस्था छ ।
म्याद नाघेको ३ महिनाभित्र पनि वार्षिक साधारणसभा नबोलाएमा सोको कारण खुलाई कुनै सेयरधनीले अदालतमा निवेदन दिन सक्नेछन् । सोही निवेदनको आधारमा अदालतले वार्षिक साधारणसभा गर्न लगाउन वा अन्य आदेशसमेत जारी गर्न सक्ने प्रावधान छ ।
राष्ट्रिय बिमाका सूचना अधिकारी एवम् कम्पनी सचिव निरञ्जन आचार्य राष्ट्रिय बिमा संस्थानसँग अगल भएर बेग्लै कम्पनी बनेका कारण हिसाब किताबहरू मिलाउन बाँकी रहेकाले साधारणसभामा ढिलाइ भएको बताउँछन् । कारोबार सुरु भएको ७ वर्ष बितिसक्दा पनि कम्पनीले किन हिसाब मिलाउन सकेन ? भन्ने प्रश्नमा उनी मौन छन् ।
‘मुख्य कुरा हाम्रो अडिट हुनै बाँकी छ, अडिटका लागि काम गर्दैछौं, आर्थिक वर्ष २०७०/०७१ मा संस्थान र बिमा कम्पनी छुट्टिदाका हिसाब किताब अझै मिलेका छैनन् । सो हिसाब किताब स्पष्ट पारेर एक साता अघि बिमा समितिमा पनि बुझाएका छौं,’ उनले भने ।
हिसाब किताब र नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) ले अडिटमा प्रभाव पारेको उनको जिकिर छ । आगामी असार मसान्त भित्रै आर्थिक वर्ष २०७५/०७६ सम्मको साधारणसभा गर्ने तयारीमा हामी छौं’, कम्पनी सचिव आचार्यले क्यापिटल नेपालसँग भने । लेखापरीक्षण नहुन्जेल बिमा समितिले लाभांश घोषणा गर्न दिँदैन, सबै नाफा रिजर्भमा जम्मा भएको आचार्यले बताए ।
बिमा समिति भने कम्पनीले साधारणसभा नगर्दा मौन छ । उसले कारबाही गर्न सकेको छैन । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीलाई साधारणसभा नगर्न छुट नरहेको बताउँछन् ।
‘वित्तीय सुशासनको कुरा गर्दा साधारणसभा एक नम्बरमै आउँछ, कम्पनीको मुटुकै रुपमा पनि साधारणसभालाई हेरिन्छ । कम्पनी कति स्वस्थ छ भन्ने कुरा साधारणसभा हेर्दा पुग्छ ।बिमा कम्पनीलाई सभा नगर्ने छुट छैन, कम्पनी रजिष्ट्रार कार्यालयले पनि यो छुट दिएको छैन,’ उनले भने ।
साधारणसभा नगरे बापत तिर्नुपर्ने जरिवाना बिमा कम्पनीले बुझाउँदै आएको छ । कम्पनीले साधारणसभाको लापरबाहीलाई निरन्तरता दिएमा समिति कारबाही गर्ने पौडेलले बताए । लामो समयदेखि साधारणसभा नगर्दा किन कारबाही गर्न नसकेको भन्ने जवाफ उनीसँग छैन ।
एक दशकदेखि साधारणसभा नगर्दा र लाभांशबाट बञ्चित हुँदा पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ हजार ६ सय ७० रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ । यस्तै, कम्पनीको बजार पुँजीकरण ४४ अर्ब ४४ करोड ८३ लाख ४ हजार ५५० रहेको छ । राष्ट्रिय बिमा दोस्रो महँगो कम्पनी हो ।
बिमा कम्पनीमा सरकार, कर्मचारी सञ्चय कोष र नेपाल बैंकको संस्थापक सेयर लगानी छ । जसअनुसार सरकारको ४१.०३ प्रतिशत, सञ्चय कोषको १९.३७ प्रतिशत र नेपाल बैंकको ९.६० प्रतिशत स्वामित्व छ । कम्पनीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा भने कम्पनीको नाफा १३ करोड ७४ लाख १ हजार रुपैयाँ छ । नाफालाई कम्पनीले जगेडा कोषमा राखेको छ । यस्तै बैंकको मुद्दती निक्षेपमा समेत राखेको छ ।
बिमा कम्पनीले न्यूनतम चुक्तापुँजी पुर्याउन सकेको छैन । कम्पनी चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ मात्र छ । निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको चुक्तापुँजी न्यूनतम १ अर्ब रुपैयाँ हुनुपर्छ ।