न्यूदिल्ली, एजेन्सी । रिलायन्स इन्डष्ट्रिज लिमिटेका कार्यकारी अध्यक्ष मुकेश अम्बानी पुनः एसियाका सर्वाधिक धनी भएका छन् । उनले चीनका जोङ्ग सनसानलाई पछि पार्दै एसियाको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । मुकेशको सम्पत्ति अहिले ८० अर्ब अमेरिकी डलर छ ।
उनको सम्पत्ति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दोब्बरभन्दा बढी हो । पेट्रोलियम, केमिकलदेखि ई–कमर्स व्यवसाय गर्दै आएका अम्बानीको कम्पनी रिलायन्सको सेयर मूल्य घट्नुको बाबजुद पनि एसियाको सर्वाधिक धनी व्यक्ति हुन पुगेका छन् । उनले चीनका बोटल उत्पादक कम्पनीका मालिक सनसानलाई पछि पारेका छन् ।
यो साता बोटल उत्पादक नोङ्गफू स्प्रिङ्ग कम्पनी लिमिटेडको सेयर मूल्यमा भारी गिरावट आएपछि सनसानको सम्पत्ति २२ अर्ब डलर घटेर ७६ अर्ब ६० करोड डलरमा सीमित भएको ब्लुमबर्ग बिलियिनर इन्डेक्सले जनाएको छ ।
जोङ्गको नोङ्गफू स्प्रिङ्ग कम्पनीको सेयर मूल्य २० प्रतिशत घटेको छ । सो कम्पनीले गत जनवरीमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको थियो । त्यसबेला कम्पनीको सेयर मूल्य नयाँ उचाइमा पुगेको थियो । त्यसबेला उनले अम्बानीलाई पछि पारेका थिए ।
यो साता हङकङ र चीनको सेयर बजारमा भारी गिरावट आएको छ । यसको असर जोङ्गको कम्पनीमा परेका कारण उनको खुद सम्पत्तिमा गिरावट आएको हो । अम्बानी २ वर्ष एसियाका सर्वाधिक धनी व्यक्तिको सूचीमा परेका थिए । यसबीचमा उनले चीनको अलिबाबा कम्पनीका मालिक ज्याक मालाई पछि पारेका थिए ।
अम्बानी डिसेम्बरमा विश्वको छैटौं सर्वाधिक धनीको सूचीमा परेका थिए । पेट्रोलियम र ऊर्जाबाट प्रविधि ई–कमर्समा लगानी बढाएका अम्बानीले गत वर्ष फेसबुक र गुगल इंकलगायत विदेशी कम्पनीहरुलाई २७ अर्ब डलरमा सेयर बिक्री गरेका थिए ।
गएको जनवरीमा अमेरिकी कार उत्पादक टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्क विश्वका सर्वाधिक धनी व्यक्ति बनेका थिए । टेस्लाको सेयर मूल्य आकासिएपछि मस्कले अमेजनका सीईओ जेफ बेजोसलाई पछि पारेका थिए ।
यो साता मात्र मस्कको कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि उनले १५ अर्ब डलर गुमाएका छन् । बिटक्वाइनमा १ अर्ब ५० करोड डलर लगानीको ट्वीट गरेपछि टेस्लाको सेयर मूल्यमा गिरावट आएको हो ।