काठमाडौं । हरेक साल फ्रेबुअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि मनाइएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा डिजिटल शिक्षाको महत्व, आवश्यकता र सरकारी तवरबाट गरिएका प्रयासहरूका बारेमा चर्चा गरिएको थियो ।
‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा वक्ताहरूले सरकारले तुर्जमा नीति पनि डिजिटलमुखी भइ कार्यान्वयनमा जोड दिनुपर्ने बताए । पूर्वमन्त्री गणेश शाहले अब सरकारी र निजी क्षेत्रको सहकार्यमा अहिलेको नेपाललाई डिजिटलमुखी बनाउनुपर्ने बताए ।
विशेष अतिथि प्रा.डा. सुवर्ण शाक्यले पूर्वाधारको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव आदेश खड्काले सरकारले सन् २०२० देखि २०३० सम्मको मार्गचित्र बनाएर शिक्षालाई रूपान्तरण गर्ने अभियानमा अघि बढिरहेको बताए ।
पाठ्यक्रम विकास केद्रका निर्देशक गणेश भट्टराईले समयको आवश्यकताअनुसार सामग्रीहरू परिमार्जित र व्यावहारिक बनाउनै जानुपर्ने धारणा राखे ।
नमोबुद्ध नगरपालिकाका शिक्षा विभाग प्रमुख जनार्दन रिजालले स्थानीय निकायमा कनेक्टिभिटी, कन्टेन्ट र सचेतनाको कमीले गर्दा पनि डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन नसकेको बताए ।
नेपाल खुला विश्वविद्यालयका प्रोग्राम कोअर्डिनेटर डाक्टर भोजराज घिमिरेले नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्म डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारको स्पष्ट योजना र कार्यान्वयन आवश्यक रहेको जनाए ।
कार्यक्रममा बूढानीलकण्ठ स्कुलका प्रिन्सिपल होमनाथ आचार्य, फ्युज मेसिन्सका दक्षिण एसिया निर्देशक पराग श्रेष्ठ, कारखानाका सीईओ पवित्र गौतम, ओरियन्ट कलेज वसुन्धाराकी लेक्चर प्राप्ति थापा र एन प्याब्सनका सचिव सुवास न्यौपाने सहभागी थिए ।