काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मादेवी अर्यालले हरेक वर्ष हुने रासायनिक मलको अभावले किसान छट्पटाउने अवस्था अन्त्य गर्ने बताएकी छन् । खेतीपाती गर्ने ‘सिजन’ मै मलको अभावका कारण किसान अब छट्पटाउनुपर्ने अवस्था अन्त्य गर्ने उनको भनाई छ ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले रासायनिक मलको अल्पकालीन र दीर्घकालीन समाधानको योजना बनाएर अघि बढ्ने बताइन् । उनले रासायनिक मल कारखाना खोल्ने विषयमा पनि कार्यविधि मन्त्रिपरिषदमा पठाउन लागिएको बताइन् । सातै प्रदेशमा रासायनिक मल भण्डार खोल्ने तयारी भएको उनले बताइन् ।
त्यस्तै, उनले कृषिको अनुदान वास्तविक किसानसमक्ष पुर्याउन र बिचौलियाको अन्त्य गर्न कुनै खुट्टा नकमाउने दाबी गरिन् । ‘अनुदानको बेतिथिमाथि खुट्टा कमाउँदैनौं । ठेकेदारी प्रथालाइ चिर्दै अघि बढ्छौं’ उनले भनिन्, ‘हामी नयाँ व्यवस्था बसाल्न आएको हो, गर्छौै ।’
उनले सातै प्रदेशमा इजरायली प्रविधि हस्तान्तरण गर्ने, खाद्य भण्डार स्थापना, किसान वर्गीकरण र सूचीकरण र माटोको डिजिटल नक्सा लगायतका कार्यक्रमहरु कार्यान्वयन भइरहेको बताइन् ।
उनले कृषिमा डिजिटल प्रविधिको विकास गर्दै कृषिलाई व्यवसायीकरण र आधुनिकीकरणतर्फ लगिने बताइन । उनले कालीमाटी फलफूल तथा तरकारी बजारभित्रको बेतिथि अन्त्य गरिहाल्ने बताइन् । उनले कालीमाटीका अनाधिकृत स्टल, फोहोर व्यवस्थापन र सवारी साधनको व्यवस्थित गरेर नयाँ रुपमा कालीमाटीको रुपान्तरण गर्ने बताइन् ।
‘हामीले कालीमाटी तरकारी बजारको अनुगमन गर्यौ । त्यहाँभित्र अनावश्यक स्टलमा बसेका व्यक्ति, त्यहाँको फोहोर सवारी व्यवस्थापन गरिछाड्छौं’ उनले भनिन् ‘कार्यविधि बनाइसकेका छौं, अब पुरानो हाेइन नयाँ कालीमाटी तरकारी बजारको रुपमा व्यवस्थित गर्छौ ।’ उनले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने, कृषिलाई डिजिटलाइजेशन र अण्डा, दूध र माछामा आत्मनिर्भर भएको घोषणा गर्ने बताइन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तरगत(पशुपन्छीतर्फ) सचिव पेम नारायण कँडेलले पशुपन्छी तथा मत्स्य क्षेत्रको विकासका लागि ४० बुदे सुधार योजना अघि बढाइएको बताए । उनले आत्मनिर्भर उन्मुख भएका कृषि उपजको व्यवस्थित बजारको अभावको समस्या कायमै रहेको उनले बताए ।