न्यूयोर्क, एजेन्सी । विश्वकै सर्वाधिक लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । बिटक्वाइनको मूल्य बढेपछि बजार पुँजीकरण १० खर्ब अमेरिकी डलर (१ ट्रिलियन) पुगेको छ ।
यो साता नै बिटक्वाइनको मूल्य १४ प्रतिशतले बढेर ५६ हजार ३९९ डलर पुगेको छ । आर्थिक गतिविधि सुस्त, हेज बजार कमजोर र सेयर मूल्य घट्दा यसको सकारात्मक प्रभाव बिटक्वाइनमा परेको बताइएको छ । यसबीचमा मूलधारका लगानीकर्ताहरुले लगानी बढाएका कारण बिटक्वाइनको मूल्य वृद्धि भएको हो ।
मूलधारका लगानीकर्ताले बिटक्वाइनको मूल्य बढाउन इन्धनको काम गरेका छन । टेस्ला इंक र मास्टरकार्ड इंकले बिटक्वाइनलाई स्वीकार गरेका छन ।
लक्जरियस कार उत्पादक टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्कले बिहीबार ट्वीट गरी १ अर्ब ५० करोड डलरको बिटक्वाइन खरिद गरेको जानकारी गराएपछि बजार उचालिएको हो । यसले मूलधारका लगानीकर्तालाई बिटक्वाइनमा लगानी गर्न प्रेरित गरेको छ ।
सुनको मार्केट क्याप ९ देखि १० खर्ब डलर रहेको छ । तर, बिटक्वाइनको मात्रै सुनको भन्दा आधा मार्केट क्याप छ । ‘२ लाख डलरका दरले मार्केट क्याप बढी रहेको बिटक्वाइनको मूल्य कहिले रोकिन्छ, निश्चित छैन,’ अभा ल्याबका प्रेसिडेन्ट जोन वुले भनेका छन् । बिटक्वाइनको वृद्धि यही गतिमा भएमा बजार पुँजीकरणमा अल्फावेट इंकलाई पछि पार्ने संभावना बढेको छ ।
अफावेटको मूल्य १४ खर्ब ३१ अर्ब डलर (१.४३१ ट्रिलियन) डलर रहेको क्रिप्टो हेज फण्डका ज्याकोव स्किेनिङले बताएका छन । ‘बिटक्वाइनको मूल्यमा केही उतारचढाव आए पनि बढ्ने गतिमा देखिएको छ’ ज्याकवले भनेका छन् ।
यता विश्लेषक जेपी मोर्गानले बिटक्वाइनको मूल्य अनुमान गरिएको भन्दा बढी भए पनि वृद्धि फेयर भएको प्रतिक्रिया जनाएको छ । बिटक्वाइनको मूल्यमा आएको उतारचढावले विश्वको भुक्तानी प्रणालीमा समस्या ल्याउन सक्ने विश्लेषकहरुको भनाई छ ।
बिटक्वाइनको मूल्य बढेपछि क्रिप्टो सम्बन्धित सेयर बजार सिल्भरगेट क्यापिटल कर्पोरेसनको मूल्य ८.२ प्रतिशतले बढेको छ । यस्तै रियोट ब्लकेचनको १३.५ र म्यारथन प्याटेन्ट ग्रुपको ७.३ प्रतिशतले बढेको छ ।