काठमाडौं । सरकारले दर्जन बढी सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक चरणको अध्ययन पूरा गरेको छ । केही सुरुङमार्ग निर्माणमै प्रवेश गरेका छन् । यस्तै केहीको अध्ययन र विस्तृत डिजाइन भएर निर्माणको जाने तयारीमा छन् । सुरुङ मार्ग बनाउन अर्बौ रुपैयाँ लाग्नेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत सडक विभागका अनुसार, अहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र सरकारको लगानीमा नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणले गति लिएको छ ।
कुल २२ अर्ब रुपैयाँको लागतमा ४२ महिनाभित्र सम्पन्न हुने गरी नागढुंगा सुरुङमार्गको काम भइरहेको छ । धादिङतर्फ ८० मिटर र काठमाडौंतर्फ ५० मिटर गरी हालसम्म करिव १३० मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजना पक्षले जनाएको छ ।
त्यस्तै, बुटबलबाट पाल्पा जोड्ने राजमार्गखण्डमा प्रस्तावित सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन र अध्ययन भएर निर्माणमा जाँदैछ । सरकारले चालू आर्थिक वर्षमा सिद्धबाबा सुृरुङमार्ग निर्माणका लागि ३३ करोड रुपैयाँ बजेट छुट्याएको छ । चालू आर्थिक वर्षमा सिद्धबाबा सुरुङमार्गको बोलपत्र आह्वान गर्ने सडक विभागको तयारी छ ।
चालू आवमा ठेक्का लगायतका सार्वजनिक खरिद प्रकृया पूरा गरेर अर्को आवदेखि सुरुङ निर्माण थालिने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । १२०० मिटरको सो सुरुङमार्ग निर्माण सरकार आफैले गर्दैछ । त्यसका लागि झन्डै २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
लामाबगर–लाप्चे सुरुङमार्गको डीपीआर तयार
प्रस्तावित लामाबगर–लाप्चे सुरुङमार्ग आयोजनाको पनि प्रारम्भिक डिजाइन र अध्ययन यसैवर्ष पूरा गरी अर्को आवदेखि निर्माण लैजाने सरकारको तयारी छ । प्रारम्भिक डिजाइन सम्पन्न भएर लागत अनुमानसहितको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाइएको सडक विभागले जनाएको छ ।
झन्डै १ किलोमिटर लामो सो सुरुङमार्ग बनाउन साढे २ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने भन्दै स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको सडक विभागअन्र्तगत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र प्रमुख डा. विजय जैसीले बताए । सिद्धबाबा र लामाबगर सरकारकै लगानीमा निर्माण हुने जैसीले बताए ।
त्यस्तै, पूर्वमा ४ किलोमिटर लामो धरान–लेउती सुरुङमार्ग सम्भाव्यता अध्ययनको काम अघि बढेको छ । विपीनगर–खुुटिया–दिपायल सुरुङमार्गको पनि विस्तृत डिजाइनको काम अघि बढिरहेको छ । ६ किलोमिटर लामो सुरुङमार्ग विस्तृत सम्भाव्यता अध्ययन यसैवर्ष पूरा गरिने लक्ष्य छ । मानेचौर–गोदावरीकुण्ड–काभ्रे जोड्ने सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।
खुर्कोट–चियाबारीमा जाईकाको आस !
त्यस्तै, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्गको विस्तृत अध्ययन पूरा भइसकेको छ । सो सुरुङमार्ग आयोजना अध्ययन गर्न सरकारले जाइकासँग अनुरोध गरेको छ । ६ किलोमिटरको त्यसमा जाइका सरकारात्मक नै रहेको थापाले बताए । सो सुरुङमार्गका लागि झन्डै २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले खुर्कोटबाट सिन्धुली पुग्न ३९ किलोमिट लामो दुरी छ । सुरुङमार्ग बनेपछि बाटो धेरै छोटो हुनेछ ।
पूर्व–पश्चिम राजमार्गअन्र्तगत नवलपरासीको दाउन्ने खण्डमा प्रस्तावित सुरुङमार्गको पनि सम्भाव्यता र विस्तृत डिजाइन सम्पन्न भइसकेको विभागले जनाएको छ । ४ किलोमिटर लामो दाउन्ने खण्डमा सुरुङमार्ग निर्माणको डीपीआर तयार भएको छ । कास्की र पर्वत जोड्ने गरी फेदीखोला–नयाँपुल सुरुङमार्ग ७ किलोमिटर विस्तृत डिजाइन पूरा भएर निर्माणमा जाने चरणमा छ ।
प्रदेश सरकारले अघि बढाउँदै कुलेखानी–भीमफेदी सुरुङ
यता, कुलेखानी–भीमफेदी सुरुङमार्गको अध्ययन र निर्माण बागमती प्रदेश सरकारअन्र्तत भौतिक पूर्वाधार विकास मन्त्रालयले अघि बढाउँदैछ । प्रस्तावित ७ किलोमिटर लामो सुरुङमार्ग अध्ययन र डिजाइनको काम पूरा गरेको छ । प्रदेश सरकारले विस्तृत अध्ययन पूरा गरेर निकट भविष्यमै ठेक्का लगाउने तयारी गरेको छ ।
झन्डै ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गले भीमफेदी–कुलेखानी सडकको दुरी १७ किमिले छोटिनेछ । हेटौंडाबाट राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग ६५ किलोमिटरमा झर्नेछ । उच्च जोखिम, घुमाउरो र साँघुरो खण्डमा तीन किलोमिटर लामो सुरुङ बनाउन लागिएको हो । सुरुङमार्गमा एप्रोच सडक र तीनवटा पुल निर्माण हुनेछन । सो सुरुङमार्ग निर्माणका लागि झन्डै १८ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
यस्तै राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको नेपालको पहिलो सुरुङ मार्गको पुननिर्माण गर्न बागमती प्रदेश सरकारले प्रक्रिया अघि बढाएको छ । सो सुरुङको पुननिर्माणका लागि प्रदेश सरकारले बोलपत्र आब्हानसमेत गरेको छ ।
यता, केही सुरुङमार्ग दातृ राष्ट्रहरुको सहयोग तथा लगानीमा अध्ययन, डिजाइन र निर्माण हुँदैछन् । त्यस्तै, थानकोट–चित्लाङ सुरुङमार्गको अध्ययन स्वीस सरकारले गर्ने जनाएको छ । चीन सरकारले नै टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने अध्ययन गरिरहेको छ । यो माग बनाउन चीनले सम्झौतासमेत गरेको छ । कोरोना महामारीका कारण चिनिँया कम्पनी अध्ययनका लागि आउन सकेको छैन । बेत्रावती–स्याफ्रुबेसी सुरुङमार्ग अध्ययनका लागि चिनिँया सरकारसँग अनुरोध गरिएको छ ।
यता, काठमाडौंको तिनकुने–कोटेश्वर–जडिबुटी खण्डमा फ्लाईओभर र सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा छ । त्यस्तै, नयाँ बानेश्वरमा अण्डर पास निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको सडक विभागले जनाएको छ । सुरुङमार्गमार्फत अग्ला डाँडा र घुम्तीमार्फत सडकको दूरी घटाउने सरकारको लक्ष्य छ ।
सरकारले सुरुङमार्गको अध्ययन, डिजाइन र निर्माणका लागि चालू आर्थिक वर्षमा झन्डै ६ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जलविद्युत आयोजना बनाउन मात्र सुरुङ निर्माण हुने गरेकोमा अहिले सुरुङमार्ग नै निर्माणको काम अघि बढेका छन ।