बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकाले ‘मेयर कृषि कार्यक्रम’को महत्वाकाङ्क्षी योजना अघि सारेको छ । बर्दिवास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा कृषि कार्यक्रमको योजनामा काम थालिएको नगरले जनाएको छ ।
गत आर्थिक वर्ष २०७५÷०७६ को नगरसभाबाट नै पारित यो योजनाभित्र हरितगृह, अन्नबाली तथा तरकारी खेती, फसल बिक्री तथा प्रदर्शन, बागवानी, चिस्यान केन्द्र (शीतभण्डार), माछापालन पोखरी र तरकारी होलसेल केन्द्रसहितका लागि जग्गा छुट्याइएको छ ।
कूल ७५ बिघा जग्गामा सञ्चालन गरिने सो कार्यक्रमअन्तर्गत अन्नबाली तथा तरकारी खेतीका लागि २८ बिघा, हरितगृहका लागि १७ बिघा, पोखरी र फसल होलसेल बिक्री केन्द्रका लागि १० बिघा, बागवानीका लागि सात बिघा र शीतभण्डार निर्माणका लागि दुई बिघा छुट्याइएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।
यसबाहेक मनोरञ्जनात्मक पार्कका लागि तीन बिघा र प्रशिक्षण एवं तालीम केन्द्र र प्रशासनिक भवनका लागि दुई÷दुई बिघा छुट्याइएको छ । गत आवमै छानिएको यो योजनाअन्तर्गत शीतभण्डार निर्माणको काम चार करोड रुपैयाको लागतमा बोलपत्र प्रक्रियाबाट सम्पन्न गरिने गरी प्रक्रिया बढाइ सकिएको उनको भनाइ छ ।
“मेयर कृषि कार्यक्रममा यसपालि नौ करोड रुपैयाँ विनियोजन गरिएको छ”, नगरप्रमुख कार्कीले भने, “यो दीर्घकालीन महत्वको भएकाले सम्पन्न हुन केही वर्ष लाग्नसक्छ ।” बाहिर सुनिने टिप्पणीजस्तै यो महत्वाकांक्षी नै योजना भएको उनको भनाइ छ ।
महत्वकांक्षी योजना भए पनि दृढ इच्छाशक्तिबाट बनेको योजना हुँदा आफ्नो कार्यकालभित्रै धेरै काम सम्पन्न भइसक्ने उनले दाबी गरे । सो कार्यक्रमको मुख्य उद्देश्यभित्र किसानलाई प्राङ्गारिक खेतीमा उत्साहित गराउनु रहेको उनले बताए ।
अहिले मेयर कृषि कार्यक्रम विस्तृत कार्ययोजना प्रस्ताव निर्माणको चरणमा रहेको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । यो योजना सम्पन्न हुँदासम्म फलफूल, तरकारी, माछा र अन्नबालीमा बर्दिवास नगरपालिका पूर्णरुपले आत्मनिर्भर हुने बताइएको छ ।
बर्दिवास नगरपाकिाले शुरु गरेको यो योजनाबारे जिल्लाका अन्य स्थानीयतहले पनि चासो व्यक्त गरेका छन् । रासस