काठमाडौं । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको पहिलो लटको ठेक्का भियतनाम र नेपाली कम्पनीको संयुक्त उपक्रमले पाएका छन् ।
सबैभन्दा कम दर प्रस्ताव गर्ने र आर्थिक एवम् प्राविधिक रुपमा प्रभावग्राही भियतनामको सोङ डा कर्पोरेसन नेपालको कालिका कन्ट्रक्सन जेभीले पाएका हुन् । पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सीएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएर सो कम्पनीले निर्माणको ठेक्का पाएको हो ।
फागुनभित्र संयुक्त उपक्रमसँग पहिलो लटको ठेक्का सम्झौता हुने विकासकर्ता तनहुँ हाइड्रो लिमिटेडका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । उनले १६ अर्ब ६८ करोड रुपैयाँमा उसले ठेक्का पाएको जानकारी दिए ।
ठेकेदार कम्पनीले नेपालमा आउन प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । पहिलो लटमा निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ ।
बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनःबोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेस गरेका थिए । त्यसमध्ये आर्थिक र प्राविधिक मूल्यांकनका आधारमा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्ट्रक्सन/नेपाल जेभी योग्य मानिएका थिए ।
चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेसनल इलेक्ट्रिक इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले पनि बोलपत्रका लागि आशयपत्र पेश गरेका थिए । सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
आयोजनाका प्रबन्धक सञ्चालक थिकेका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति २१.१७ र वित्तीय प्रगति १९.३३ प्रतिशत रहेको छ । सीएमसीसँग ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्दा निर्माणको काम एक वर्ष ढिलाइ हुने उनको भनाइ छ ।
आयोजनाको २०० मिटर टेष्ट टनेल खनिसकिएको छ भने १ हजार २०० मिटरको मुख्य टनेल खन्न बाँकी छ । ‘ठेक्का रद्द नभएको भए अहिलेसम्म केही कामहरु सुरु भइसक्थ्यो’, उनले भने, ‘पुनःबोलपत्र आह्वान गर्दा काम प्रभावित भएको छ, यसले आयोजनाको निर्माणकार्यलाई पछाडि धकेलेको छ ।’
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (यूआईबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ ।
आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ ।
सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासलगायत संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ ।
सिनो हाइड्रोले आयोजनाको पहुँचमार्गसम्म पुग्न १ हजार १०० मिटर ट्रयाक खोलिसकेको छ भने ४०० मिटर ट्रयाक खोल्न बाँकी छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ ।
कम्पनी आयोजना स्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्भे गरिरहेको अवस्था छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ ।
यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा सरकार र प्राधिकरण एवं प्राधिकरण तथा उक्त कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण विसं २०८१ को असार दोस्रो साताभित्र (सन् २०२४ जुन) सम्पन्न गर्ने लक्ष्य छ ।