काठमाडौं । दुर्घम क्षेत्रमा उडान गर्दै आएको सीता एयरले अब धनगढीबाट सुदूरपश्चिमका जिल्लाहरूमा सेवा दिने भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बझाङ, डोटी, साँफेबगर र बैतडी उडान गर्ने भएको हो ।
सीता एयरका महाप्रवन्धक घनश्याम आचार्यले प्रदेशबाट जिल्लामा उडान सेवा विस्तार गर्ने उद्देश्यले केही दिनअघि मात्र ती जिल्लाको चारवटा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरिएको जानकारी दिए ।
खाद्यान्न ढुवानीसहित यात्रुहरूलाई ओसारपसार गर्ने उद्देश्यका साथ परीक्षण उडान गरिएको बताउँदै नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)मा अनुमतिका लागि माग गरिएको बताए ।
मार्च(फागुन) भित्रमै नियमित उडानका लागि आवश्यक तयारी भइरहेको बताउँदै हवाई उडानले दुर्घम क्षेत्रमा यातायातले धेरै सहयोग पुग्ने अपेक्षा लिएको उनको भनाइ छ ।
दुर्घम क्षेत्र भएकाले यातायातका साधानहरू नपुगेकै कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बनिरहेको बेला सीताले सो जिल्लामा उडान गर्न लागेको हो । ‘प्राधिकरणले उडान अनुमति दिएलगत्तै उडानका लागि हामी तयारीमा लाग्ने छौं,’ महाप्रवन्धक आचार्यले भने ।
अहिले सीताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वको ताप्लेजुङ, झापाको भद्रपुर, पश्चिममा नेपालगन्जबाट सुर्खेत र कर्णालीका जिल्लाहरूमा उडान गर्दै आएको छ ।
सीताले सुगम क्षेत्रमा उडानका लागि एटीआर जहाजसमेत खरिदको प्रक्रिया अगाडि बढेको छ । एटीआरका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस अघिनै अनुमति पाइसकेको छ ।
कोरोना भाइरसको कारण अहिलेनै नयाँ जहाज ल्याउन सक्ने अवस्था नभएकाले तत्कालका लागि भएका जहाजहरूले नै अहिलेका गन्तव्यहरूमा उडान गर्ने र सामान्य भएपछि जहाज ल्याउने तयारीमा आफूहरू रहेको महाप्रबन्धक आचार्यको भनाइ छ ।